इजलासमा सूर्य थापामाथि रविको आक्रोश

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
ravi lamichhan pic

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । यो म्याद थप सातौंपटक हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा समेत अनुसन्धान भइरहेको छ । प्रहरीले उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । प्रहरीले सरकारी वकिलमार्फत ९ दिनको म्याद थप माग गरेको थियो ।

पीडित पक्षका वकिल र सरकारी वकिलहरुले अनुसन्धान बाँकी रहेकाले थप म्याद आवश्यक पर्ने बहस गरेका थिए । ‘प्रतिवेदन आउन बाँकी छ । ६०/६५ जनाको अनुसन्धान गर्नुपर्ने कुरा हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्म अनुसन्धान गरेर अदालत ल्याउनुपर्छ । विश्लेषण गर्न बाँकी छ भनेर प्रतिवादीको तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस भयो,’ एक वकिलले भने, ‘म्याद थप हुनुपर्छ भन्ने माग भयो । लामिछाने पक्षबाट बहस गर्नेहरुले अब थप्नु पर्दैन भन्ने बहस गर्नुभयो । बहस म्याद थप्ने र नथप्नेमै सीमित भयो ।’

बहसमा रविले भने संसदीय छानविन समितिका सभापति सूर्य थापाप्रति आक्रोश पोखेका थिए । ‘यो प्रतिवेदन नितान्त एउटा लेखकले लेखेको कथा हो । कथाको छायांकन भइरहेको छ । हामी छायांकनको मध्यान्तरमा आएका छौं भन्नुभयो,’ बहसमा उपस्थित एक सहभागीले भने, ‘रचनाकार र लेखक सूर्य थापा हुनुहुन्छ । उहाँले जे भन्नुभयो त्यही भइरहेको छ । योजना बनाएर लेखिएको प्रतिवेदन हो भन्नुभयो ।’ थापाले प्रतिवेदनमा गलत कुरा लेखेर हरेक मिडियाबाट मिथ्या प्रचार गरेको आरोप रविले अदालतमा लगाएका छन् ।

प्रहरीले अनुसधान अन्तिम चरणमा पुर्‍याएकोमा बिहीबार अदालतले थप्यो ५ दिन म्याद

‘प्रतिवेदनमा गलत लेख्नु भयो । संसदीय छानविन समितिको प्रतिवेदन आएपछि हरेक मिडियामा पुग्नु भयो । मलाई दोष लगाउने काम गर्नु भयो,’ बहसका क्रममा उनले भने, ‘सूर्य थापाको स्क्रिप्टमा अदालत साक्षी बनेर हेरिरहेको छ ।’ तर न्यायाधीश पौडेलले उनको आरोपको खण्डन गरिदिए र भने, ‘सामान्य व्यक्तिलाई जसरी अनुसन्धान हुनुपर्ने हो त्यसरी नै अनुसन्धान भइरहेको छ । बरु मन्त्री भएवापत तपाईंले पाउने सुविधा छुट्टै भएको छ । अदालत साक्षी बनेको मात्रै छैन ।’

लामिछानेले राज्य नै आफूविरुद्ध लागेकोले हिरासत मुक्त गरेर ऐतिहासिक काम गर्न न्यायाधीशलाई अह्राए । ‘कहिँ नभएको इतिहास तपाईंले कायम गरिदिनु प¥यो । रिटायर्ड भएर परिवारसँग बस्दा म ठूलो मान्छे बनेको देख्न पाउनुहुनेछ,’ उनले त्यहाँ थपे, ‘त्यतिबेला मैले हिरासतमुक्त गरेको मान्छे भनेर गर्व गर्नलायक काम गर्नेछु ।’ बहसमा सहभागी एक वकिलका अनुसार लामिछानेले हरेक पटक छुट्टाछुट्टै व्यक्ति र संस्थामाथि आक्रोश पोख्ने गरेका छन् । ‘कहिलेकहिले बचतकर्ता उहाँको भुमरीमा पर्थे, कहिले प्रहरी पर्थे, कहिले अदालत पनि पर्‍यो । आज सूर्य थापा पर्नुभयो,’ उनले भने ।

सूर्यदर्शन सहकारी सहित विभिन्न ५ सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप उनीसँग छ । रविसँगै छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि ५ दिनकै म्याद थप भएको छ । बुटवलको सुप्रिम, काठमाडौं स्वर्णलक्ष्मी, चितवनको सहारा र पीरगञ्जको सानो पाइला सहकारीबाट रकम गोर्खा मिडियामा गएको छानविनबाट देखिएको छ । रविलाई पाँचै जिल्लामा लगेर बयान लिइएको छ । प्रहरी स्रोतका अनुसार थपिएको ५ दिनमै अभियोजन दर्ता गर्ने तयारी छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी व्यवस्था छ । छविलाल जोशीलाई पक्राउ गरेको ६ असोजदेखि नै गणना गरेर ९० दिन हिसाब हुन्छ । रविलाई भने गत २ कात्तिकमा पक्राउ गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width