भौतिक मन्त्रीका सय दिन

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८१
prakash minister

पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्री भएपछि कास्कीका दुई र तनहुँ, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का यातायात कार्यालयमा टोकन सिस्टम लागु गर्न सफल भएको उनले दाबी गरे । उनले यातायात कार्यालयमा सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क पनि आफ्नो पहिलो निर्णयअनुसार नै कार्यान्वयन भएको बताए । आफूले ‘हनिमुन पिरियड’ मन्त्रालय र मातहतबाहेक अन्य काममा नखर्चिएको मन्त्री केसीले सुनाए । ‘मन्त्री भएपछि पहिला आफ्नो मन्त्रालयबारे बुझ्नुपर्छ । त्यसैले मैले यो एक सय दिन मन्त्रालयको आन्तरिक अवस्था र आफ्नो कार्यालयहरुको अवस्था बुझ्न खर्चिएँ,’ उनले भने, ‘यो सय दिनको सिकाइले मलाई अब मन्त्रालयलाई कसरी चलाउने ? कमजोरी कहाँ छ ? कसरी समाधान गर्न सकिन्छ ? भनेर सिकेको छु ।’ मन्त्री केसीले यस अवधिमा आफूले मनाङबाहेक सबै यातायात र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेर त्यहाँको समस्या बुझेको बताए ।

प्रदेशमा राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधिको मस्यौदा तयार भएको उनले जानकारी दिए । ‘राइड सेयरिङको मस्यौदामाथि सम्बन्धित पक्षसँग पटकपटक छलफल भएको छ । यो पनि छिट्टै टुंग्याउने पक्षमा छौं,’ उनले भने ।

मातहतको कार्यालयका प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न निर्देशन दिएको मन्त्री केसीले बताए । ‘म समय हुँदा काम नगर्ने अनि असारे विकासमा समय खर्चने पक्षमा छैन ।

त्यसैले मेरो मातहतको कार्यालय प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्काको काम सक्न भनेको छु,’ उनले भने । मन्त्रालयका १ हजार ८ सय ४६ योजनामध्ये ३८ सकिएको, ४ सय ८५ निर्माणाधीन रहेको, २ सय ६५ मूल्यांकनको चरणमा रहेको, ३ सय योजना बोलपत्र आव्हान् भएको र ४ सय ८८ योजना लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको मन्त्री केसीले जानकारी दिए ।

लाइसेन्सको नतिजा आफू आउनुअघि एक महिना लाग्ने गरेकोमा अहिले बढीमा १० दिनमा हुने गरेको मन्त्री केसीले बताए । ‘प्रदेशमा चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाको नतिजा सफ्टवेयरमा एक महिनामा मात्र अद्यावधिक गर्ने गरिन्थ्यो । तर, अहिले हामी आएपछि कास्कीको हकमा १० दिनभित्र र अन्य कार्यालयले ७ दिनभित्र नतिजा अपलोड गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘अहिले फारम भरेको १० दिनभित्र लिखित तथा ट्रायल परीक्षा दिने व्यवस्था छ ।’

मन्त्री केसीले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म प्रदेश सरकार स्थापना भएयताकै उच्च विकास खर्च गरेको उपलब्धि विवरणमा उल्लेख छ । मन्त्रालयले हालसम्म १०.०१ वित्तिय र १२.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गतका १९ वटा कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले बताए ।

सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले जानकारी दिए । त्यसका लागि संघ सरकारको स्वामित्वमा रहेको जग्गा मन्त्रालयले उपयोग गर्न गत १७ मंसिरकोको मन्त्रिपरिषद् निर्णयले स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रियामा रहेको उपलब्धि पुस्तिकामा उल्लेख छ ।

बागलुङको मालढुंगा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङको पहिरो र कास्कीको नयाँपुल–घान्द्रुक सडकमा साढे दुई महिनादेखि अवरुद्ध सडक दसैंअघि नै पहिरो हटाएर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । आफू मन्त्री भएयता १६.७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे÷पक्की सडक निर्माण भएको, ११.९३५ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य भएको, १९ किलोमिटर सडक पक्की ढलान गर्ने काम भएको मन्त्री केसीले बताए ।

वार्षिक विकास कार्यक्रममा समावेश भएका तर योजनाको नाम, ठेगाना संशोधन गर्नुपर्ने, दोहोरोपन, स्थानीय विवादलगायत विविध कारणले २ सय ७१ वटा योजना कार्यान्वयन हुन बाँकी रहेकोमा ती योजनाहरुको संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width