पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि मानवअधिकार आयोगको टोलीले लामिछानेसँग भेट गरेको छ ।
आयोगको पोखरास्थित गण्डकी प्रदेश कार्यालयबाट प्रमुख नीतु गर्तौला र मानवअधिकार अधिकृत टंक खनालसहितको टोलीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई शुक्रबार भेट गरेको हो । भेटका क्रममा लामिछानेले आफूलाई अपहरणको शैलीमा चितवनबाट पोखरा ल्याइएको गुनासो गरेका छन् ।
भोलिपल्ट विमानमार्फत पोखरा जाने बताइए पनि आफू सुतेको अवस्थामा एक्कासि उठाएर अपहरण शैलीमा रातारात पोखरा ल्याइपु¥याएको गुनासो गरेको उनको भनाइ उद्घृत गर्दै मानवअधिकार अधिकृत टंक खनालले भने । खनालका अनुसार घण्टौसम्म बयानका दिँदा उक्त दिन लामिछानेले ‘आफूलाई धपेडी भएको र सामान्य स्वास्थ्य चेकजाँच (प्रेसर चेक) गरौं, परिवारका सदस्य तथा आफ्ना वकिललाई खबर गर्नुहोस्’ भन्दा पनि प्रहरीले नमानेका बताएका छन् । राति सवा १२ बजे उठाएर स्थलमार्ग हुँदै रातारात पोखरा ल्याइएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य स्वास्थ्य चेकजाँच भएको थियो । जसमा उनको उच्च रक्तचाप १८०÷९० भएको पाइएको थियो । लामिछानेलाई बिहीबार बिहान साढे ३ बजेतिर मात्र पोखरा ल्याइएको थियो । हिरासतमा राख्नुअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँच भएको हो ।
पोखरा ल्याइनुपूर्व जिल्ला सहकारी वकिल कार्यालयमा चितवनको सहारा सहकारीको रकम अपचलन मुद्दामा बिहानदेखि राति ९ बजेसम्म लगातार बयान दिएका थिए । उनले खानासमेत त्यही खाएका थिए । अत्यन्तै टाउको दुखेकाले आफूले औषधी सेवन गरेको आयोगको टोलीलाई उनले जानकारी गराएका छन् ।
लामिछानेको भनाइ उद्घृत गर्दै मानवअधिकार अधिकृत खनालले भने, ‘भोलिपल्ट जाने भनिएकोमा राति एक्कासि ल उठ ! भन्दै अपहरणको शैलीमा ल्याइयो । यहाँ आएर ब्लड प्रेसर चेक गर्दा १८०÷९० देखियो । क्रिटिकल अवस्थामा मेरो स्वास्थ्य तलमाथि केही भएको भए के हुन्थ्यो ?’ साथै, उनको मुख्य गुनासो भनेको, परिवारका सदस्यलाई पनि खबर नगर्नु, आफ्नो वकिललाई पनि खबर नगरी एक्कासि अपहरण शैलीमा ल्याइएको भन्ने गुनासो रहेको खनालले जानकारी दिए ।
लामिछानेसँग भेटपछि आयोगको गण्डकी प्रदेश कार्यालयले रिपोर्ट केन्द्रीय कार्यालय पठाउने खनालले बताए ।
लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी नीकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएकी थिइन् । उनले प्रहरी महानिरीक्षक, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।
सहकारी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध थुनामा रहँदा र विभिन्न जिल्लामा अड्डासार गर्ने बहानामा दुव्यर्वहार भएकाले लामिछानेको मानव अधिकारहरूको गम्भीर उल्लंघन भएको उनको दाबी छ । साथै, अनुसन्धानका क्रममा विभिन्न शारीरिक एवं मानसिक यातना दिइएको उनको उजुरीमा उल्लेख छ । रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लंघन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्मसम्मानमा चोट पु¥याउने प्रयास भइरहेको उजुरीमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् । उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनीविरुद्ध रुपन्देही र काठमाडौं जिल्ला सरकारी कार्यालयमा समेत बयानका लागि लगिएको थियो ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको उनीमाथि अभियोग छ ।
यस्तै, वीरगञ्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोप छ । उनलाई ३ दिनसम्म रुपन्देही, ४ दिनसम्म काठमाडौं र २ दिन चितवनमा बयानपछि पोखरा फर्काइएको थियो ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । उनलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन, चौंथोपटक १३ दिन र पाँचौपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भएको हो । पछिल्लोपल्ट ९ मंसिरमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले अनुसन्धान गर्न कास्की प्रहरीलाई ८ मंसिरदेखि कायम हुने १५ दिनको म्याद थपको आदेश दिएको थियो ।
न्यायाधीश बेल्वासेको इजलासले लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो । गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।
लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ । यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बताइन् । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । छवि जोशी पक्राउ गरेको दिन ६ असोजलाई पहिलो दिन मानेर लामिछानेको म्याद मिलान भएको छ ।
सोबमोजिम ९० दिनभित्र कास्की प्रहरीले अनुसन्धान सकिसक्नुपर्छ ।
शाहीले पनि भेटे रविलाई
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि कास्की हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् । उनले शनिबार हिरासतमै पुगेर रविसँग कुराकानी गरेका हुन् । प्रहरी कार्यालयबाट बाहिरिएपछि उनले लामिछानेलाई हिरासतमा राख्दा गम्भिर मानवअधिकार उल्लंघन भएको जिकीर गरेका छन् ।
‘मदिरा सेवन गरेका प्रहरी लगाएर रातारात चितवनबाट कास्की ल्याइएको रहेछ । हामी कानुनी राज्यमा छौँ, कानुन सबैले मान्नुपर्छ । तर यहाँ मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ,’ उनले भने, मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याएको भन्नुभएको छ । यो गम्भीर घटना ‘रविजी प्रति जुनखालको व्यवहार भएको छ, यो गम्भिर कुरा हो । सत्यतथ्य छानबिन गर्नुपर्छ ।’
शाहीसँग लामिछानेले आफूलाई चितवनमा अमानवीय व्यवहार गरिएको बताएका थिए । ‘जसले मानव अधिकार उल्लङ्घनको काम गरेको छ, उनीहरूलाई कारबाही गरिनुपर्छ,’ शाहीले भने, ‘प्रेसर बढेको छ भनेर भन्दाभन्दै औषधी पनि नदिइ यति लामो यात्रा गराइएको छ । केही भइहालेको भए को जिम्मेवार हुन्थ्यो ?’ उनले गलत गर्नेलाई कारबाही नभए सडक र संसद्बाट जवाफ माग्ने चेतावनी दिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१