पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८१
metro news

पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ ।

पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच भएको सम्झौताबमोजिम अध्ययन टोलीले तयार प्रतिवेदन बिहीबार नगर प्रमुख आचार्यलाई बुझाएको हो ।

पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्था प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।

परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्यचोक पृथ्वीचोकलाई थप बिस्तार गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने सो परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।
यस्तै, दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरिने प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने अपेक्षा गरिएको छ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिलेजस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओह्राल्न पाउने छैनन् । क्याम्पिङ चोकदेखि बगर (बस स्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोकदेखि महिमा किराना (बस स्टप १८) सम्म गरी तीन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो परियोजनामार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको संख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने विश्वास व्यक्त गरे । उनले पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चाप व्यवस्थित गर्न सो परियोजना प्रभावकारी हुने बताए ।

उक्त परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम कम्पनी लि. सहित विभिन्न दातृनिकायले साझेदारी गर्नेछन् ।

सो परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ । यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने आवश्यक प्रविधि र उपकरण कोरियाली टोलीले गर्नेछ ।

पहिलो चरणमा लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width