शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८१
10b95e2e-3c68-492a-a125-f6ca20e0e82e

पोखरा । सामाजिक विकास कार्यालय, कास्कीको आयोजनामा जिल्लास्तरमा ‘शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’ सम्पन्न भएको छ । सो अवसरमा विद्यार्थी र शिक्षकको छुट्टाछुट्टै वक्तृत्वकला प्रतियोगिता भयो भने विद्यार्थीको नृत्य र शिक्षकको हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

शिक्षक हाजिरीजवाफ प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाको टिम प्रथम भयो । मादी गाउँपालिकाको टिम दोस्रो र रुपाको टिम तेस्रो भयो ।

विद्यार्थीबीच नृत्य प्रतियोगितामा पोखरा–१४, चाउथेस्थित कास्की मोर्डनाइज्ड एकेडेमी प्रथम भयो । रामकोट मावि रुपा दोस्रो र हिमालयन मादी मादी तेस्रो भयो ।

शिक्षकबीच वक्तृत्वकला प्रतियोगितामा कीर्तिराज ढकाल प्रथम भए । उनी अन्नपूर्ण गाउँपालिकाको भगवती माविका शिक्षक हुन् । मादीस्थित हिमालय माविका हिमालय पौडेल दोस्रो र पोखराको प्रगति बोर्डिङका डोलराज अर्याल तेस्रो हुन सफल भएका छन् ।

विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाकी प्रनीशा विक, रुपाकी मनीष श्रेष्ठ र मादीका सञ्जु गुरुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुन सफल भए ।

विजेतामध्ये हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रोलाई १०, ९ र ८ हजार साथमा प्रमाणपत्र पुरस्कार दिइएको छ । विद्यार्थी नृत्यतर्फ १२, १० र ८ हजार साथमा प्रमाणपत्र, वक्तृत्वकलामा दुवैतर्फ ८, ६ र ५ हजार साथमा प्रमाणपत्र पुरस्कार थियो । सबै प्रतियोगितामा गरी करिब ७० जनाले भाग लिएका छन् ।

जिल्लाका विजयीलाई अब गण्डकी प्रदेशस्तरमा हुने प्रतिभा पहिचान कार्यक्रममा भाग लिने अवसर मिलेको सामाजिक विकास कार्यालयका ज्ञानेश्वर सुवेदीले जानकारी दिए ।

शिक्षा विकास निर्देशनालयले यही २८ र २९ मा प्रदेशस्तरको प्रतियोगिता गर्दैछ । जसमा गण्डकीका ११ वटै जिल्लाबाट छानिएका प्रतिस्पर्धीले भाग लिने छन् ।

बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, शिक्षा विकास निर्देशनालय गण्डकीका नि. महानिर्देशक अम्बिकाप्रसाद आचार्य लगायतले यस प्रकारका प्रतियोगिताले प्रतिभा पहिचानमा निकै ठूलो मद्दत पुग्ने बताए ।

कार्यक्रममा परीक्षा व्यवस्थापन कार्यालय पोखराका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक घनश्याम पौडेल र ऋषिराज बास्तोला लगायत अतिथिको रुपमा थिए।

कार्यक्रममा सामाजिक विकास कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडलले स्वागत मन्तव्य र ज्ञानबहादुर थापाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width