राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव

दोस्रो संस्करण २२ र २३ मंसिरमा हुँदै

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०८१
orange

पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा गत वर्ष नेपालमै पहिलोपल्ट सुन्तला महोत्सव भयो । उक्त महोत्सवले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा उत्तिकै चर्चा पायो ।

यतिसम्म कि सरकारले सुन्तलालाई ३० चैतमा ‘राष्ट्रिय फल’ नै घोषणा गर्‍यो । यसरी सुन्तला राष्ट्रिय फल घोषणासम्म हुनुको प्रमुख श्रेय सुन्तलाको पकेट क्षेत्र पाल्पाको उही रिब्दीकोट र यसको छिमेकी पालिका रैनीदेवी छहरालाई जान्छ । पहिलो महोत्सव अभूतपूर्व सफल भएपछि सुन्तला कृषकहरु पनि हौसिएका थिए।

यस सिजनमा बोटमा लटरम्म सुन्तला पहेंलपूर हुन थालेको छ । आयोजकले पनि पोहोरको भन्दा यसपालि महोत्सवलाई अझ बृहत् रुप दिँदैछ।

रिब्दीकोट र रैनादेवी–छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही २२ र २३ मंसिरमा रैनादेवी–छहरा गाउँपालिका ५, कटौजेपानी खेल मैदानमा महोत्सव हुन लागेको हो । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बुधबार सदरमुकाम तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

रिब्दीकोट ७ का वडाध्यक्ष  तथा महोत्सव आयोजक समिति संयोजक दानबहादुर कुँवरले सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको प्रस्ट पारे । महोत्सवले सुन्तला कृषकबाट उत्पादित सुन्तलाको प्रवद्र्धनमा सहयोग गर्ने विश्वासका साथ दुबै पालिकाबाट ५/५ लाख बजेट विनियोजन गरी १० लाखको लागतमा महोत्सव गर्न थालिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवं रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराईले बताए ।

सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवद्र्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सिप र ज्ञानको विकास हुने धारणा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले महोत्सव सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले संचालन गरेका थिए ।

रिब्दीकोट तथा रैनादेवी छहरा गाउँपालिकाका किसानले परम्परागत खेती छाडेर सुन्तला खेती गर्दै आएका छन् । यो महोत्सवबाट सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा आयोजकको छ ।

सुन्तला महोत्सवमा माटो परीक्षण, रोग कीरासम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा किसानलाई जानकारीसमेत दिइनेछ । २ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

रिब्दीकोट गाउँपालिका–७ स्थित प्रभात माविमा गत वर्ष १६ मंसिरमा वडा कार्यालय, गाउँपालिका तथा स्थानीय सुन्तला कृषकको पहलमा पहिलो सुन्तला महोत्सव भएको थियो । त्यसबेला प्रमुख अतिथिको रुपमा उपस्थित पाल्पाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ठाकुर गैरेले राष्ट्रिय फल घोषणा गराउन निकै ठूलो पहल गरेको स्थानीय स्मरण गर्छन् ।

-तस्बिर-भुवन रायमाझी

Related News

सम्बन्धित समाचार

hero news full width