पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८१
koti home 1

पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको हो । १७–२७ मंसिरसम्म चल्ने कोटिहोम उद्घाटन पूर्व पोखरा वडा १५ कार्यालयबाट कलश यात्रा निकालिएको थियो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले कोटी होमको औपचारिक उद्घाटन गर्दै असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिए । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताए । उनले भने, ‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन् ।’

पोखरा वडा १५ कार्यालयको समन्वयमा आयोजित कोटीहोममा प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) जी, ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि पञ्चधामका संरक्षक लोकानत्द महाराजजीलगायतले कथा वाचन गर्नेछन् ।

सो स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनायो ।

पर्यटन प्रवद्र्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रूद्रीसहितको विराट धनधान्यान्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागेको बताएको छ । निःशुल्क ब्रतबन्ध, निःशुल्क चौरासी पूजाको व्यवस्थापन, ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिंग स्थापना गरिने उद्देश्य राखिएको छ ।

सेती नदीमा अकालमा ज्यान गुमाएकाहरुको मुक्तिको कामना गर्दै विशेष पूजा, विपन्न बालबालिकाहरुलाई शिशुस्याहारदेखि कक्षा ३ सम्म निःशुल्क पठनपाठनको व्यवस्थापन, प्रेम मन्दिर शिलान्यास, प्राकृतिक पुलमुनी रहेको गुप्त तीर्थमा रहेको मन्दिर दर्शनका लागि बाटो निर्माण, पट्नेरीमा रहेका २८० घरधुरीलाई शुद्ध खानेपानीको निःशुल्क व्यवस्था, शवदहन गर्नको लागि दाउरा राख्ने घर, शौचालय र सार्वजनिक धारा निर्माण लगायतका पवित्र उद्देश्यका साथ यस धार्मिक समारोह आयोजना गरिएको आयोजकले जनायो ।

कोटिहोममा १५ जनाभन्दा बढी वाचकलाई निम्ता दिइएको आयोजक समिति उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width