अनेसास गण्डकीमा देवेन्द्र

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८१
Aneshash prize

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव असफल गौतम, सचिव कल्याण पन्त, कोषाध्यक्ष कृष्ण सारथि र सदस्य सरस्वती शर्मा जिज्ञासु छन् । पोखरामा आयोजित महेश्वर पन्तको गजल गायन, विशेष रचनावाचन, कृति लोकार्पण र सम्मानसहितको घोषणासभा आयोजना गरी अनेसास नेपाल च्याप्टरले कार्यसमिति घोषणा गरेको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सभा उद्घाटन गर्दै नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि अनेसासले पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले आफू नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा रहेका बेला अनेसासका केही च्याप्टरका कार्यक्रममा सहभागी भएकोसमेत स्मरण गरे ।

वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले उल्लेख्य योगदान दिएको बताइन् ।

र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष रूपिन्द्र प्रभावीले साहित्यको उन्नयनमा स्थापित संघसंस्थाबीच सहकार्य र सहयात्रा गरेर अगाडि बढ्दा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।

नवनिर्वाचित अध्यक्ष केसीले अनेसास केन्द्रीय समितिको वार्षिक कार्ययोजनानुसार प्रदेश समितिलाई क्रियाशील राख्न प्रतिबद्ध रहने बताए । समारोहमा अनेसासका केन्द्रीय सचिव रविन शर्मा, केन्द्रीय सदस्य सुमन वर्षा, नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ पत्रकार बद्री विनोद प्रतीकले अनेसासका विविध गतिविधिबारे प्रकाश पारे । सोही समारोहबीच अनेसास बोस्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको गजलगायनसमेत थियो ।

विशेष रचनावाचनमा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मञ्जिला अनिल, कोषाध्यक्ष कमला रिसाल, कतार च्याप्टर पूर्व अध्यक्ष प्रेम भट्टराई, अनेसास पोर्चुगल च्याप्टर महासचिव एनबी अञ्जानलगायतले रचना प्रस्तुत गरे ।
कार्यक्रममा देवेन्द्र केसी देवुको मुक्तक संग्रह ‘दृढ संकल्प’ र गीति एल्बम ‘देवु’ को गृहलोकार्पण र कार्यक्रम संयोजक दुर्गाबहादुर शाह ‘बाबा’लाई पुतलीबजार प्रज्ञा–प्रतिष्ठानको उपकुलपति नियुक्त भएकामा सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन अनेसास नेपाल च्याप्टर महासचिव रञ्जना निरौला र प्रदेश समिति महासचिव असफल गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width