घार्मीमा बालाचतुर्दशी रौनक

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८१
gharmi

पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ ।

पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा शनिबार सयौं भक्तजनको सहभागितामा शद्बीज छरेर बालाचतुर्दशी पर्व मनाइएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजापताका र तोरणले सजिएको मन्दिरमा शद्बीज छर्न र दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको स्थानीय प्रेमबहादुर जिसीले बताए ।

पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली बाजागाजा र भजनकीर्तनसहित विभिन्न भाग परिक्रमा गरी मन्दिर परिसरमा पु¥याइएको थियो । फूलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।

त्यस क्षेत्रमा लामाचौर, बाटुलेचौर, हेमजा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए ।

मेलामा विश्व हिन्दू महासंघ पोखरा १९, भूमेमैदान भजन समूह र स्थानीय युवाले दिनभर भजनकीर्तन गरी मनोरञ्जन दिलाएका थिए । स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पूजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

शद्बीज छर्ने कार्य र भजनकीर्तन साँझ अबेरसम्म जारी रहेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताए । भक्तजनले यस क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र भूमि रहेको बताउँदै यसबो बृहत्तर विकासको लागि क्षेत्र विकास समितिमार्फत सबैलाई समेट्न सुझाव दिएका छन् । मन्दिर परिसरको घार्मी भ्यू टावरले यहाँ थप आकर्षण थपेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width