पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८१
bridge

स्याङ्जा । पुतलीबजार नगरपालिका १३ मैनिखामा र अर्जुनचौपारी गाउँपालिका १ जोड्ने ठाडाखेतमा मोटरेवल पुलको उदघाटन गरिएको छ । २०७४ पुसमा निर्माण सुरु गरिएको पुलको झण्डै ८ वर्षपछि उद्घाटन गरिएको हो ।

संघीय सांसद राजु थापाले शनिबार पुल उद्घाटन गर्दै ढिलो भए पनि उद्घाटन भएको र पुलले पुतलीबजार र अर्जुनचौपारीका स्थानीयबासी लाभान्वित भएको बताए ।

बहुदलीय व्यवस्थापछि विकासले गति लिएको उनको भनाइ छ । पञ्चायती ३० वर्षे शासनकाल र त्यसपछिका समयलाई तुलना गर्दै आमनागरिकको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था राम्रो देखिएको उनले जनाए ।

अहिलेसम्म ५ वर्ष एउटै दलले शासनसत्ता संचालन गर्न नपाउनु विकास समृद्धिको वाधक बनेको सांसद थापाको भनाइ छ । स्थायी सरकार नहुदा बदलिरहने सरकारले विकास र समृद्धि हुन नसकेको उनले दाबी गरे ।

पुतलीबजार र अर्जुनचौपारी जोड्नेगरी सडक निर्माण लगायतका पक्की सडक पूर्वाधार लगायत अन्य कामका लागि आफू सकारात्मक भएको जनाउदै दुबै पालिकाको सहकार्य र समन्वयमा आवश्यकतानुरुप विकास गर्ने बताए ।

मुलुकको विकास र निकासका लागि एमाले र काँग्रेसको सरकार बनेको सांसद थापाले बताए। सांसद थापाका अनुसार, ‘विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारीहरु, नागरिकबीच सहकार्य र एकताले विकास सम्भव हुन्छ ।’

सो पुल ३ करोड ४१ लाख ९२ हजार रुपैयाँमा निर्माण गरेको इन्जिनियर सिर्जना शर्माले जानकारी दिइन् । ७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ ।

कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी १ का अध्यक्ष रणबहादुर थापा, पुतलीबजार वडा १३ का कार्यवाहक अध्यक्ष सूर्यबहादुर रोका, पुल निर्माण समितिका उपाध्यक्ष दुर्गा अर्याल र सचिव मनबहादुर रोका लगायतले पुल निर्माणपछि दुबै पालिकाका स्थानीयबासीले दैनिक जीवन यापनमा निकै सहज पुगेको जानकारी गराए ।

कार्यक्रमबीच, पुतलीबजार १३ स्थित झापाकोट युवा क्लब सचिव सूर्यबहादुर जिसीले संघीय सांसद राजु थापा समक्ष विकास निर्माणका लागि सहयोग गरिदिन ३ बुँदे माग पत्र बुझाएका थिए । सोबारे आवश्यक सहयोग गर्ने सांसद थापाले प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width