परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८१
icon

पोखरा। नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान गरिएको छ ।
सामाजिक तथा आर्थिक रुपान्तरणलगायत अन्य विधामा क्रियाशील १० जनालाई उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट आदर्श समाज दैनिकका कार्यकारी सम्पादक विजय नेपाल, महिला तथा बालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, समाजसेवामा प्रेन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रविन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल छन् । सोही अवसरमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मान गरियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई सम्मानपत्रसहित सम्मान गरे । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा परिषद्ले हरेक प्रदेशमा युवा सम्मेलनसहित यसरी प्रदेश आइकनसहित सम्मान गर्दै आएको संस्थाका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताए ।

‘आइकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनोट समिति गठन गरेको जनाएको छ । जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियन्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी थिए । उक्त छनोट समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशमा क्रियाशील १० जना युवा छनोट गरी लागि सिफारिस गरेको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवा विदेशिने प्रचलन भए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश र राष्ट्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली थोपर्ने नहुने सुझाव दिए ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटा, प्रेस रजिष्ट्रार बिमला भण्डारीलगायतले युवाका विषयमा मन्तव्य राखेका थिए ।

सम्मेलनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, आयोगका उपाध्यक्ष देवकोटा, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । गण्डकीका ११ जिल्लाबाट प्रतिनिधित्व हुने गरी सम्मेलनमा करिब २ सय जना युवाले भाग लिएका छन् । उनीहरुबीच बृहत् छलफलपश्चात पोखरा घोषणापत्रसमेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ यसअघि बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिममा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको छ ।

प्रदेश युवा सम्मेलनले हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको बाँनियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width