शुद्ध भयो मर्दीको पानी, जाइकाको आयोजना सरकारलाई हस्तान्तरण

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८१
water

पोखरा । पोखराको खानेपानी शुद्धीकरण आयोजना उद्घाटन भएको छ । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार आयोजनाको उद्घाटन गरे ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको आयोजना खानेपानी संस्थान, पोखरालाई हस्तान्तरण गरेको हो । आयोजनाको उद्घाटनसँगै ३ लाख पोखरेलीले अब शुद्ध पानी पिउन सक्नेछन् । तर त्यसका लागि अझै केही समय कुर्नुपर्ने भएको छ । संस्थानले वितरण गर्ने अन्य पानीको मुहानमा ट्रिटमेन्ट प्लान्ट निर्माण बाँकी नै भएकोले पानी पूर्ण रुपमा शुद्ध हुन ३ वर्ष लाग्ने बताइएको छ । भोटिखोलाको पानी शुद्ध बनाउन ट्रिटमेन्ट प्लान्ट निर्माण भैरहेको छ । त्यहाँ ८० प्रतिशत काम सकिएको संस्थानले जनाएको छ । कालिमुडाको पानी शुद्धीकरण गर्न अहिलेसम्म ट्रिटमेन्ट प्लान्ट निर्माण अघि बढेको छैन । यद्यपि, पहिलेजस्तो धमिलो र लेदो पानी पोखरेलीले उपभोग गर्नुपर्ने छैन ।

आयोजना उद्घाटनपछि मन्त्री यादवले माछापुच्छ«ेको काखबाट पोखरेलीलाई शुद्ध पानी वितरण गर्न सफल भएकोमा संस्थानलाई र सहयोग गर्ने जाइकालाई धन्यवाद दिए । ‘हिजो वर्षातको समयमा हिलो मिसिएको पानी पिउनुपर्ने अवस्था थियो । अब त्यो पीडा सकिएको छ,’ उनले भने, ‘यो मेलम्चीपछिको ठूलो आयोजना हो । सबैको सहयोगबाट सम्पन्न भएको छ । सबैलाई धन्यवाद ।’ आयोजनामा बाँकी रहेका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ । जाइकाले आयोजना बनाउन ४ अर्ब ८१ करोड अनुदान दिएको छ । तर संस्थानले आयोजना निर्माणको लागत रकम नेपाल सरकारलाई किस्ताबन्दीमा भुक्तानी गर्नुपर्ने छ ।

आयोजनाका लागि २०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच अनुदान सम्झौता भएको थियो । त्यसपछि जापानकै हाज्मा एन्ड कर्पोरेसनलाई ठेक्का दिइएको हो । २०८० पुस १५ मा सक्नेगरी २०७६ देखि काम सुरु भए पनि कोरोनालगायत कारणले २ वर्ष पछि धकेलियो । पानी शुद्ध बनाउन मर्दीको मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वटा बालुवा हटाउने ट्यांकी (ग्रिट च्याम्बर) र ४ वटा पानी थिग्र्याउने ट्यांकी (सेडिमेन्टेसन टंकी) निर्माण गरिएको छ । मुहानबाट लगिएको पानी पोखरा १९ पुरुन्चौरमा निर्माण भएको पानी छान्ने फिल्टरमा खसालिन्छ । यहाँ ४ करोड १० लाख लिटर क्षमताका ६ वटा फिल्टर र ९ सय ३० घनमिटरका २ वटा सफा पानी संकलन टंकी निर्माण गरिएको छ । सँगै क्लोरिनेसन प्लान्ट पनि बनाइएको छ ।

पुरुञ्चौरबाट प्रशोधित पानी २० इन्चको पाइपबाट पोखरा २ विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट पोखरा १६, लामाचौरको अमलाविसौनीमा रहेको टंकीमा पठाइन्छ । त्यहाँबाट पानी वितरण गर्न जाइकाले नै पस्र्याङ, फूलबारी र कोलपाटनमा २०–२० लाख क्षमताका ओभरहेड टंकी बनाएको छ । यद्यपि कोलपाटनको टंकी अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डका कारण सञ्चालनमा आएको छैन । ‘जाइकाले गर्नुपर्ने सबै काम पूरा भएको छ । काम सकिएकै कारण हस्तान्तरण गरिएको हो,’ संस्थान पोखराका प्रमुख आशीष कार्कीले भने, ‘कोलपाटनको टंकीमा भने विमानस्थलको कारण समस्या आयो । त्यसको पनि विकल्प खोजी भैसकेको छ । करिव ६ करोड भयो भने व्यवस्थापन हुन्छ ।’ टंकी बनाउन १४ करोडभन्दा बढी खर्च लागेको उनको भनाइ छ । टंकी सञ्चालनमा नआएका कारण त्यस क्षेत्रका ४ वटा वडा प्रभावित भएका छन् ।

संस्थानले पोखराका १ देखि १९ नम्बर वडासम्म पानी वितरण गर्छ । यहाँ ८ करोड ७० लाख लिटर पानी माग छ । आपूर्ति भने ६ करोड २० लाख लिटर मात्रै रहेको कार्कीले जानकारी दिए । उनका अनुसार मर्दीको पानीसँगै भोटीखोला, कालिमुडा र बोरिङबाट पानी आपूर्ति हुँदै आएको छ । विभिन्न ठाउँमा २० वटा बोरिङ सञ्चालनमा छन् । त्यसबाट डेढ करोड लिटर पानी उत्पादन भएको छ । मर्दीकै भत्केको पुलबाट ५० लाख लिटर पानी थप्ने योजना रहेको उनले सुनाए । ‘पोखरामा पानीको माग धेरै छ । यो पानीले पोखरालाई पुग्दैन । १० वर्षअघिको लागि डिजाइन गरिएको आयोजना बल्ल सकिएको छ, पानी कम हुने कुरा स्वभाविक छ,’ उनले भने, ‘पोखरामा वार्षिक ४.२ प्रतिशत जनसंख्या बढेको छ । तर पानीको स्रोत थपिएको छैन । शुद्धीकरण गरिएको पानी पठाएपछि झनै समस्या हुन सक्छ ।’

पानी वितरण गर्न मुख्य र भित्री सडकमा १ सय ११ किलोमिटर लामो पाइपलाइन बिस्तार भएको छ । संस्थानले ५२ हजार धाराबाट पानी वितरण गर्दै आएको छ । ट्रिटमेन्ट प्लाण्ट बनेपछि भने मर्दीबाट आउने पानीमा दैनिक ५० लाख लिटर उत्पादन घट्ने भएको छ । जसका कारण झण्डै ५ हजार घरधुरी प्रभावित हुने संस्थानले जनाएको छ । त्यसलाई पूर्ति गर्न हालको मुहानभन्दा तलबाट थप पानी संकलन गरि ट्रिटमेन्ट प्लान्टमा हाल्न लागिएको छ । तर त्यसको भर्खर टेन्डर आह्वान भएको छ । ५ सय मिलिमिटरको पाइपबाट ५० लाख लिटर पानी लैजाने गरी काम भइरहेको कार्कीले सुनाए । उनका अनुसार संस्थाले माछापुच्छकै सार्दीखोलाबाट थप १ करोड लिटर पानी ल्याउन डिपिआर बनाउन लागेको छ । थप ३ वटा बोरिङ (औद्योगिक क्षेत्र, बिरौटा र बगर) निर्माण चलिरहेको छ । ती बोरिङबाट ३० लाख लिटर पानीको आपूर्ति हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width