मदरल्याण्डद्वारा उत्कृष्ट विद्यार्थीको सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८१
Motherland School samman News. 2

पोखरा । मदरल्याण्ड माध्यमिक विद्यालयले गत वर्षको एसइई र कक्षा–१२ परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित समारोह एसइईमा ४ जिपिए ल्याएका १० जना विद्यार्थी र कक्षा १२ को परीक्षामा नेपाल टप गरेकी एकजना छात्रालाई नगदसहित सम्मान गरेको हो ।

कक्षा १२ विज्ञान संकायमा नेपाल टप गरेकी सदीक्षा क्षेत्री (३.९६ जिपिए) लाई नगद २ लाख तथा एसइईमा ४ जिपिए ल्याउनेलाई जनही ५० हजारसहित सम्मान गरिएको विद्यालय प्राचार्य डा. नारायण बरालले जानकारी दिए । एसइईमा ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् ।

यसपालि एसइईमा नेपालभरबाट १ सय ८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । तीमध्ये एकै विद्यालयबाट १० जनाको ४ जिपिए ल्याउने मदरल्याण्ड नेपालमै एकमात्र हो ।

समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्राचार्य डा.नारायण बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख गोविन्द पोखरेल, पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य लगायतले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।

एसइईमा ४ जिपिए ल्याएका १० जना विद्यार्थीलाई जनही ५० हजार तथा कक्षा १२ मा नेपाल टप प्रशंसा क्षत्रीलाई २ लाख

कार्यक्रममा मन्त्री थापाले कुनै पनि विद्यालय सफल हुनुमा विद्यार्थीको उत्कृष्ट नजितासँगै असल अभ्यास पनि जरुरी रहेको बताए । ‘विद्यालयमा अब केही फरक अभ्यास जरुरी छ । विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संस्कार, संस्कृति पनि सिकाउनुपर्छ,’ थापाले भने, ‘विद्यार्थीसँगै उनीहरुका अभिभावक पनि जोडिँदा अझ राम्रो परिणाम निस्कन्छ ।’

प्रदेश सरकारले विद्यार्थीको सिकाइमा नयाँपन ल्याउन ‘फ्राइडे फर फ्यूचर’, सिक्दै कमाउँदै लगायतका कार्यक्रममा जोड दिएका बताए ।

वडाध्यक्ष आचार्यले मदरल्याण्ड शैक्षिक गुणस्तरमा उत्कृट हुँदाहुँदै सामाजिक काममा पनि उत्तिकै अग्रणी रहेको बताए । उनले भने, ‘हरेक वर्षको उत्कृष्ट रिजल्टले मदरल्याण्डको पहिचान अझ फराकिलो बनेको छ ।’

राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख गोविन्द पोखरेलले सबैको सहयोग र सक्रियताले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने बताए ।

विद्यालय प्राचार्य डा. बरालले मदरल्याण्ड माविले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पारेर उचाइ बढाइरहेको बताए । ‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ । अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘विगमा झैं मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ । आगामी दिनमा विद्यार्थीलाई किताबी ज्ञानसँगै रचनात्मक सीप दिलाउन लागिपर्ने छौं ।’

उक्त अवसरमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षापछि स्नातक तहमा विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । नेपाल विज्ञान शिक्षक संघमार्फत गत वर्षको एसइईमा विज्ञानमा उत्कृष्ट रिजल्ट ल्याउन सफल विद्यालयका विज्ञान शिक्षकलाई पनि सम्मान गरिएको थियो । साथै कक्षा ८ को परीक्षाका उत्कृष्ट विद्यार्थीसमेत सम्मानित भए ।

कक्षा १२ को परीक्षामा मदरल्याण्डकै अन्य ३ जना विद्यार्थीको समेत ३.९५ जिपिए आएको थियो । विज्ञान संकायका विनम श्रेष्ठ र प्रसिल लामिछाने तथा व्यवस्थापन संकायकी प्रशंसा बराल रहेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । अघिल्लो वर्ष मदरल्याण्डकै ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए । व्यवस्थापनबाट राजेश पौडेल तथा विज्ञान संकायबाट जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले त्यसबेला जनही जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।

२०५१ सालमा स्थापित मदरल्याण्डमा हाल नर्सरीदेखि कक्षा १२ सम्म करिब २७ सय विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width