पोखरा । पोखरा २४, कास्कीकोटकी सुनकुमारी घर्ती उमेरले ५६ लागिन् । गाउँघरमा आफूभन्दा कम उमेरका मान्छे देख्न नपाएकी उनी नयाँ बच्चा जन्मिने दर देखेर झनै अचम्मित छिन् । स्वास्थ्य स्वयंसेविका रुपमा सेवा गरिरहेकी उनको जिम्मामा त्यहाँको ६१ घर पर्छन् । उनको कार्यक्षेत्रमा पर्ने ४ घरमा ताला लागिसकेको छ भने १५ घरमा ५० वर्षमाथिका मात्रै बस्छन् । अरु घरमा पनि महिला र अशक्तहरु बढी छन् । १७ महिनाअघि त्यहाँ एउटा बच्चा जन्मिएकोमा अर्को बच्चा अबको ४ महिनापछि जन्मिनेवाला छ । ‘पोखराबाट यति नजिकको गाउँको हालत त यस्तो छ, विकट ठाउँको अवस्था के होला ? ३०–३५ वर्षका युवा वडा कार्यालय र स्कुलमा मात्रै भेटिन्छन्,’ आफूले मत दिएर जिताएका सांसदसँग अनुनय गर्दै उनले भनिन्, ‘मभन्दा साना उमेरका मान्छेहरु मेरो गाउँमा देख्न पाउने परिवेश बनाइदिनुस् । हामीले भोट दिएर पठाएका हौं, विकास बरु चाहिएन, मेरो लासले मेरो छोरालाई कुरेर बस्न पर्ने अवस्था नआओस् ।’
कास्कीकोट पोखराबाट २५ मिनेट गाडीको यात्रामा सजिलै पुग्न सकिन्छ । अघिल्लो वर्ष वडाको तथ्यांक हेर्दा यहाँबाट ८ परिवार बसाइँ सरेर गएका छन् । त्यो भन्दा धेरै घरपरिवार बर्सेनि बसाइँ सर्ने गरे पनि दर्ता भएको छैन । सोही ठाउँकी गंगा गिरीलाई युवाले गाउँ छोड्ने दर देखेर साह्रै निराश बनाउँछ । ‘अहिले गाउँमा १ प्रतिशत पनि युवा छैनन् । जता हेरे पनि उमेर ढल्केका, केश पाकेका आमाबुबा मात्रै भेटिनुहुन्छ,’ उनले भनिन्, ‘म गाउँमै केही गर्न सकिन्छ भनेर बसेकी छु । तर बसाइँसराइले निराश बनाएको छ । युवा गाउँमा रोक्ने योजना के छ ?’ विकासका पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारी अभावमा गाउँ छोड्ने दर बढेको उनको तर्क छ । ‘आमाले पानी लिन जाँदा बोकेको डोको मैले पनि बोकिरहेको छु । घरघरमा धारा पु¥याउने सरकारको नारा कहाँ पुग्यो ?,’ आफ्ना सांसदलाई उनले प्रश्न गरिन्, ‘बरु टंकी र धारा आफैँ बनाउँछौं । पानीको मुल खोजिदिनुस् ।’ कास्कीकोटमा खानेपानीको चरम समस्या छ ।
स्थानीय अगुवा टीकाराम त्रिपाठीले लौरुक लिफ्टिङ खानेपानी आयोजनाको काम छिटो सिध्याउन माग गरे । ‘काम भइरहेको छ । बजेट पनि परेको छ । तर छिटो गरिदिनुप¥यो, धेरै अलमल भएको छ,’ उनले भने । प्रदेशको राजधानी छेउमै भएर पनि विकासमा पछाडी पारिएको स्थानीयको गुनासो छ । स्थानीय बुद्धिबहादुर बस्नेतले धेरै तिरबाट सडक बनाउने नाममा सबै अपूरो भएकोमा गुनासो गरे । ‘बास्कोट–गैराबारी–ढोकाको मुख मोटरबाटोमा ७ करोड पर्यो भन्छन् फिल्डमा काम छैन,’ उनले भने, ‘पामे, चिसापानी, लौरुकका मान्छे पोखरा घुमेर यहाँ आउनुपर्छ । काम नहुने खास कारण के हो ?’ उनीहरुले धेरै सडक स्तरोन्नती हुन नसकेका गुनासा तेस्र्याए ।
‘अहिले गाउँमा १ प्रतिशत पनि युवा छैनन् । जता हेरे पनि उमेर ढल्केका, केश पाकेका आमाबुबा मात्रै भेटिनुहुन्छ,’
वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रदेश सरकारको नजर नजिककै वडाहरुमा कम परेको गुनासो राखे । ‘नागरिकहरु विकास खोज्दै सहर पसिसके । हामी योजना माग्दामाग्दै हैरान भएका छौं,’ उनले भने, ‘जनताले राखेका गुनासा र माग सम्बोधन गर्न संसदबाट भूमिका खेलिदिनुस् ।’ उनले पालिका तहबाट सम्पादन गर्न नसकिएका योजना मात्रै प्रदेशमा पठाइएकोले एक आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बजेटको विनियोजन गर्नुपर्ने बताए । ‘पैसा नपरेको होइन, परेको छ । तर योजनाहरु अलपत्र छन्,’ उनी भन्छन्, ‘सकेसम्म एकै वर्षभित्र सम्पन्न गर्ने गरी बजेटको व्यवस्था होस् । अधुरा सबै योजना छिटो सम्पन्न गर्न प्रदेश सरकारले चासो दिओस् ।’
गुनासो सुनिसकेपछि प्रदेश सांसद प्रकाश बरालले चैत महिना भित्रै सबैका घरमा पानी पुग्ने आश्वासन दिए । ‘नागरिकको तहबाट हामीले गर्नुपर्ने सहजीकरणमा समस्या भएन भने चैत महिनामै मौलामा पानी झर्छ,’ उनले भने, ‘यहाँहरुको सहयोग अपरिहार्य छ । बजेट अभाव होइन, सहजीकरण नमिलेको हो । हामी सबैले ल्याएको आवश्यकताको योजना सामूहिक लक्ष्यका रुपमा पूरा गर्नुपर्छ ।’ अन्य खानेपानी आयोजनामा पनि प्रदेश सरकारबाट बजेट विनियोजन भइरहेको तर स्थानीयहरुकै कारण कार्यान्वयनमा नगएको उनले सुनाए । बरालले युवा विदेशिनेक्रम नेपाली समाजकै असावधानीले बढेको तर्क गरे । ‘विदेशिनुमा हाम्रा पनि क्रियाकलापले मलजल गरेको छ । शिक्षा नभएको होइन नि । गाडी छ, शिक्षक राम्रो छ । तर पढ्ने विद्यार्थी बजार झरेका छन्,’ उनी भन्छन्, ‘यस्तो रहर नागरिकले पनि गर्न हुँदैन । विदेशलाई काम लाग्ने मात्रै पढाउन खोज्नु अभिभावकको कमजोरी हो । समाज सुधार्न हामी सबै जिम्मेवार हुन जरुरी छ ।’
प्रदेश सभाअन्तर्गत अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले नागरिकले उठाएका सबै समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए । ‘बजेटलाई जनमुखि बनाउनका लागि, आवश्यकता आधारमा योजना छनोट गर्न मुद्दा बनाएर लड्छौं,’ उनले भने, ‘तपाईंका भावना पूरा हुने गरी प्रदेश सरकार समक्ष पु¥याउछौं । आगामी वर्षको बजेटमा तपाईंका मागहरु सम्बोधन गर्ने गरी सरकारलाई दवाव दिन्छौं ।’ उनले कास्कीकोटको विकासलाई ध्यान दिएर योजना तय गर्ने विषयमा आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजना र युएनडिपीअन्तर्गत संसद सहयोग परियोजनाको सहकार्यमा कास्कीकोटमा बिहीबार नागरिक सुनवाइ गरिएको हो । मञ्च अध्यक्ष भरत कोइरालाले नागरिकका समस्यामा सरकारको ध्यान केन्द्रित गर्न र आवश्यकता आधारमा योजना छनोटका लागि दबाब दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । कार्यक्रममा पत्रकार प्रकाश ढकालले सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१