रविलाई काठमाडौं लगियो

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८१
ravi lamichne

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि पोखराबाट काठमाडौं लगिएको छ । उनलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएकोमा करिब ४० दिनपछि काठमाडौं फर्काइएको हो ।

काठडमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न बिहीबार साँझ बुद्ध एयरमार्फत काठमाडौं लगिएको हो । उनीमाथि कास्कीमा सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो । पोखराको सूर्यदर्शन सहकारी झैं बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम समेत गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा लामिछाने यतिखेर मुद्दाको चाङले थिचिएका छन् ।

गोर्खा मिडियामा प्रबन्ध निर्देशक छँदा लामिछानेका अर्का साझेदार छविलाल जोशी पनि एउटै प्रकृतिको मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमै छन् । गत ६ असोजमा काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएका उनीमाथि लामिछानेलाई झैं तीन वटै मुद्दामा अनुसन्धान भइरहेको छ । उनले बिहीबार (१३ मंसिर) सम्म ६७ दिन हिरासत जीवन काटिसकेका छन् । कानूनतः सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनभित्र अनुसन्धान कार्य सकेर अदालतमा अभियोग दायर गरिसक्नुपर्छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि गत २७ कात्तिकमा त्यहाँ बयान लिई ३ दिनपछि पोखरा फर्काइएको थियो । उनीविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी झैं चितवनको साहारा सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएको थियो । अब लामिछानेलाई काठमाडौंमा जिल्ला सहकारी वकिलको उपस्थितिमा प्रहरीले सम्भवतः शुक्रबारदेखि बयान लिन थाल्नेछ । त्यसपछि चितवनमा पनि बयानपछि पोखरा ल्याइने प्रहरीको तयारी छ ।

यसैबीच, लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ । यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने न्यायाधिवक्ता कमला काफ्लेले जनाइन् । उनले रविको म्याद समेत ६ असोजदेखि नै कायम हुने गरी म्याद मिलान गरिएको जानकारी दिइन् ।

छवि जोशी पक्राउ गरेको ६ असोज पहिलो दिन मानेर म्याद मिलान भएको उनको भनाइ छ । यो अनुसार लामिछाने, जोशीसमेत ६७ दिन हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धानको म्याद भएकाले अब ३ साताभित्र अभियोगपत्र अदालतमा पेस भइसक्नुपर्नेछ ।

लामिछानेलाई पछिल्लो समय गत आइतबार पाँचौंपल्ट १५ दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो । लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो । योसँगै उनीहरु कम्तीमा २३ मंसिरसम्म प्रहरी हिरासतमा रहने छन् ।

सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा पेस गरिएका प्रतिवादीको हकमा केहीको बयान बाँकी रहेको तथा अनुसन्धान प्रक्रिया बाँकी रहेको भन्दै जिल्ला सरकारी वकिलले भने २५ दिन हिरासतमा राख्नुपर्ने जिकिर गरेका थिए । तर, अदालतले १५ दिन म्याद थपको अनुमति दिएको थियो ।

लामिछानेको पक्राउ ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै उनको पार्टी रास्वपाको सिंगो पदाधिकारी एवं उनका शुभचिन्तक पोखरामा आएर सुरुको एकसाता आन्दोलन चर्काएका थिए । पछिल्लोपटक काठमाडौं केन्द्रित आन्दोलन गरे पनि अहिले रास्वपा सडकमा प्रदर्शनमा छैन । उनका सभापतिलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन र चौंथोपटक १३ दिन र पाँचौपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width