विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८१
bindu thapa Main

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् ।

पोखरा १६, बाटुलेचौरको विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रममा बोल्दै उनले व्यावहारिक शिक्षाका लागि प्रत्येक शुक्रबार विद्यालयले बुक फ्रि डे रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । विद्यार्थी वैदेशिक अध्ययनका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले सरकारले पढ्दै कमाउँदै अभियान प्राथामिकता दिनुपर्नेमा जोड दिए ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पोखरा १६ लाई शैक्षिक हब रुपमा विकास गराउनुपर्नेमा जोड दिँदै यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयले शैक्षिक गुणस्तर वृद्घि गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि कुनै कसर बाँकी नराखेको स्पष्ट पारे ।

सो अवसरमा विद्यालयले दश जोड दुईमा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट विद्यार्थी आशीष पोखरेल, श्रेया आचार्य, वसन्तकुमार विक, रविना राउत, रिवाज थापा, आशिक गौतम, अन्जन बगाले, आशीष पौडेल, श्रद्धा पौडेल र पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सोनिया परियार, करिना विक, सिन्धु लम्साल, अञ्जली भट्टराई र आशिष पोखरेललाई नगदसहित ‘विन्ध्यवासिनी विद्या पदक’ बाट सम्मान गरिएको छ । उनीहरुलाई मन्त्री थापा, वडाध्यक्ष शर्मा, शिक्षा अधिकृत जीवन ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले नगद, सम्मानपत्र र मायाको चिनोले सम्मान गरे ।

कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन ज्ञवाली, कार्यक्रम संयोजक गोविन्द शर्मा पौडेललगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रअ रामबहादुर बानियाँले गरेका थिए । पोखराका वडा १६, १९, २० र माछापुच्छ्रे गाउँपालिकाको एक विद्यालय गरी २१ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् । हाजिरीजवाफमा कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता छ । प्रतियोगितामा धारा आधारभूत विद्यालय प्रथम, शिवेश्वरी आधारभूत विद्यालय द्वितीय, भारती भवन मावि तृतीय र गायत्री आधारभूत विद्यालय घार्मी सान्त्वना भए ।

Related News

सम्बन्धित समाचार

hero news full width