रविलाई अनुसन्धान गर्न अझै १५ दिनको म्याद : फरेन्सिक रिपोर्टदेखि घरजग्गा खोज्दै प्रहरी

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०८१
ravi lamichne

पोखरा । कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पहिलो चरणको बयान सकिएको छ । कास्की प्रहरी हिरासतमा रहेका उनले दिएकै बयानका आधारमा थप प्रमाण खुलेपछि प्रहरीले पुरक बयान सुरु गरेको छ । यही बीचमा लामिछानेलाई सुप्रिम सहकारीको अनुसन्धानका लागि बुटवल पु¥याइएको थियो । प्रहरीले बयानसँगै केही कागजातहरु संकलनको क्रममा छ । उनले गरेका भनिएका हस्ताक्षरहरुको परीक्षण गर्नका लागि फरेन्सिक ल्याव पठाइएको छ भने घरजग्गा खरिद विक्रीको लिखत पनि खोजी भएको छ । यसबीचमा भएका कल डिटेल संकलन गर्दै छ ।

उल्लेखित प्रमाणहरु प्राप्त नभएको भन्दै प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतसँग २५ दिनको म्याद मागेको थियो । लामिछानेमाथी अनुसन्धान गर्न अदालतले १५ दिनको म्याद दियो ।
हिरासतमै रहेका र उही मुद्दामा पक्राउ परेका छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइको हकमा पनि समान कारण र म्याद थपिएको छ । बयान गरेका प्रतिवादीहरुको हकमा थप प्रमाण खुलेको तथ्यमा पुरक बयान गर्न बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको, प्रतिवादीहरुको कारोबार रहेको घरजग्गा खरिद विक्रीको लिखत सम्बन्धी कागज प्रमाण प्राप्त नभएको र कल डिटेल तथा मोवाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेकोले उनीहरुलाई १५ दिनमो म्याद थपिएको न्यायाधीश हिमलाल बेलवासेको इजलासले जारी गरेको आदेशमा उल्लेख छ ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार बहसपछि कारण खुलाएर आदेश जारी भएको हो । योसँगै उनीहरु अझै २३ मंसिरसम्म प्रहरी हिरासतमा रहने छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा उनीहरु माथि अनुसन्धान जारी छ । यसअघि, लामिछानेलाई पहिलोपटक ६ दिन, दोस्रोपटक ७ दिन, तेस्रोपटक १० दिन र चौंथोपटक १३ दिनको म्याद थप भएको थियो । गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायतको रकम कम्पनीमा लगेर अपचलन गरेको अभियोग छ । पूर्व डीआईजी जोशी भने ६२ दिनदेखि हिरासतमा बसिरहेका छन् ।

‘म भाग्दिनँ, हिरासत मुक्त गरिदिनोस्’

आइतबार इजलासमा बयान दिने क्रममा लामिछानेले अदालतलाई सघाउने भन्दै हिरासत मुक्त गरिदिन आग्रह गरेका थिए । ‘म अदालतलाई सघाउँछु, भागेर जान्नँ, हिरासतमुक्त गरिदिनोस् भन्नुभएको थियो,’ बहसमा सहभागी एक वकिलले भने, ‘माननीय न्यायाधीशले यहाँबाट छोडेपनि अन्यत्र पक्राउ परिहाल्नुहुन्छ भनेर जवाफ दिनुभयो ।’ ति वकिलका अनुसार लामिछानेको मुहार पहिले भन्दा निकै मलिन बनेको छ ।
‘सुरुमा जुन दावी गर्नुभएको थियो, त्यो खालको दावी अहिले बलियो रुपमा प्रस्तुत गर्न सक्नुभएको छैन । कहिँ कतै गल्ती गरेको जस्तो महसुश उहाँले गर्नुभएको छ,’ उनी भन्छन्, ‘प्रमाणहरु पनि त्यतातिर केन्द्रित भएका छन् । उहाँको अबको बाटो उकालै छ । सहज बाटो देखेको छैन ।’ सहकारी पीडितको तर्फबाट बहस गरेका वकिलहरुले प्रमाण संकलन जारी रहेकोले तत्काल छाड्न नहुने बसह गरे ।

रविपक्षीय वकीलहरु निरन्तर उनी निर्दोष रहेको र अनुसन्धानमा सहयोग गर्ने भन्दै हिरासतबाट बाहिर राख्नुपर्ने जिकीर गर्दै आएका छन् । लामिछानेलाई बुटवल, काठमाडौं र चितवनबाट समेत पक्राउ पूर्जी जारी भएको छ । सो बमोजिम लामिछानेले ३ दिन जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बयान लिइसकेको छ । काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा चितवन सहकारीको रकम अपचलन गरेको अभियोगमा सम्बन्धित जिल्ला अदालतले पक्राउ पूर्जी दिएका छन् । लामिछानेलाई त्यसतर्फ बयानका लागि लगिने कास्की प्रहरीको तयारी छ ।

रास्वपाले प्रदर्शन गरेन

यसैबीच, लामिछाने, जोशी समेतलाई आइतबार अदालत उपस्थित गराउँदा रास्वपाले विगतमा जस्तो प्रदर्शन गरेन । बिहान कार्यालय खुले लगत्तै कडा सुरक्षा व्यवस्थाबीच उनीहरुलाई प्रहरीले गैह्रापाटनस्थित प्रहरी कार्यालयबाट सहिदचोकस्थित जिल्ला अदालत लगेको हो । यति हुँदासम्म विगतमा जस्तो रास्वपाले प्रदर्शन गर्दै अवरोध गरेन । पार्टीका जिल्ला सभापति योगराज पौडेलले केन्द्रको निर्देशनबमोजिम यसपटक प्रदर्शन नगरेको स्पष्ट पारे । तर, नियमितरुपमा धर्ना कार्यक्रम भने चिप्लेढुंगास्थित मानवअधिकार चोकमा भइरहेको छ ।

पूर्व गृहमन्त्री समेत रहेका आफ्ना सभापतिलाई पक्राउ गरेपछि उक्त कार्य राजनीतिक प्रतिशोध भन्दै रास्वपाको सिंगो नेतृत्वपंक्ति नै पोखरा आएर कात्तिकको पहिलो सातासम्म प्रदर्शनमा उत्रिएको थियो । त्यसपछि काठमाडौं केन्द्रित आन्दोलन गरे पनि रास्वपाले आइतबार देशभर कुनै पनि प्रदर्शन नगरेको पौडेलले बताए । लामिछानेलाई अदालत लगिँदा सुरक्षा व्यवस्था भने सधैं झै कडा पारिएको थियो । सर्वसाधारणलाई उक्त सहिदचोक क्षेत्र हुँदै आउजाउमा भने अवरोध गरिएको थियो । सवारी आगमन रोकिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width