आदर्श समाजकर्मी शर्मा सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
Oplus_2228224

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, कास्कीको ३१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पोखराको व्यवसायबारे इतिहास स्मरण गर्दै विगतमा राजालाई भेटी नचढाई संस्था संचालन गर्न नपाइने अवस्था रहेको बताए । उनले पोखरामा २०४२ सालमा पुस्तक तथा स्टेसनरीको संस्था प्रक्रिया सुरु भए पनि २०५० सालमा आएर बल्ल विधिवत् दर्ता भएको स्मरण गरे । उनले पुस्तक तथा स्टेसनरी व्यवसाय सम्मानित र प्रतिष्ठित व्यवसाय रहेको र आफू पनि यही व्यवसायबाट अगाडि बढेको स्मरण गरे ।

नेपाल पुस्तक तथा स्टेसनरी महासंघका महासचिव विष्णुप्रसाद पौडेलले पुस्तक नीति अहिले मन्त्रालयमा छलफलको क्रममा रहेको बताए । उनले पुस्तक नीति आमव्यवसायीको हितमा हुनुपर्नेमा जोड दिँदै मस्यौदा कार्यान्वयन भएपछि सबै व्यवसायीलाई फाइदा पुग्ने विश्वास गरे ।

कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेल, संघ कास्कीका पूर्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, संस्थाका सल्लाहकार ऋषिराम शर्मा भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादन संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरि सापकोटा, हिसान कास्की अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की अध्यक्ष एकनारायण पंगेनी, संस्थाका सहसचिव रामप्रसाद सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा अग्रज व्यवसायीमध्ये गुप्तप्रसाद शर्मा, राजेन्द्र घिमिरे र सावित्री कोइराला गौतमलाई सम्मान गरिएको थियो । सो अवसरमा संस्थाको हितमा पत्रकारिता क्षेत्रबाट योगदान गरेकोमा अन्नपूर्ण एफएम र सफलआवाजमा कार्यरत् आरजु विष्ट सल्यानी सम्मान गरिएको थियो ।

उनीहरुलाई मेयर आचार्यले खादा, माला, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । सम्मानितमध्ये जनप्रिय स्टेशनरीका संचालक गुप्तप्रसाद शर्मा आदर्श समाजकर्मीसमेत हुन् ।

संघका अध्यक्ष कवीन्द्र पोखरेल अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वतर्फबाट व्यवसायी राजेन्द्र घिमिरे र पत्रकार सल्यानीले बोलेका थिए । संघ उपाध्यक्ष ध्रुुव पोखरेलले स्वागत मन्तव्य र संचालन सचिव सञ्जय आचार्यले गरेका थिए । अधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width