‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
Myagde

पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड स्टोरको बिउ निकाल्दा कुहिएको भेटियो । पालिकाले पनि आलुको बिउ वितरण गरेको थियो । तर सोचेजस्तो भएन ।

तनहुँ जामुनेका श्रेष्ठ पालिकाका प्राविधिकसँग ज्ञान नहुँदा कोल्ड स्टोरमा धेरै किसानको क्षति भएको गुनासो गर्छन् । ‘कर्मचारीमा ज्ञान भएन कि ध्यान पुगेन ? पढेर मात्रै नहुने रहेछ, जान्नुपर्ने रहेछ,’ उनले भने, ‘मैले लगाएको आलु सबै खत्तम भयो । हिजो र अस्ति फेरि अर्को बिउ ल्याएर लगाएको छु । पालिकाकै कारण त्यत्रो आलु बिग्रियो ।’ पालिकाकै कारण आलु किसानले क्षति व्यहोरेको भन्दै पालिकाबाटै क्षतिपूर्ति भराउनुपर्ने माग राखे । ‘कतिजनाले कोल्ड स्टोरमा आलु राखेका छन् ? कतिको कुहियो ? हिसाब गरेर पैसा भराउनुपर्छ’, उनले भने । किसानहरुले पालिकाबाट वितरण भएको आलुको बिउ महँगो भएको गुनासो पनि गरे । ‘बजारमा ५० रुपैयाँमा पाइने आलुलाई पालिकामा सय रुपैयाँ तिर्नुपर्छ । कसरी अनुदान भयो ?’, उनले प्रश्न गरे ।

जवाफमा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कोल्ड स्टोरको आलु कुहिनुमा प्राविधिक ज्ञानको अभाव भएको स्वीकारे । ‘पालिकाले सकेसम्म गरेकै छ । निरन्तर बिजुली उपलब्ध गराइएको छ । बिजुली जाँदा चलाउने जेनेरेटर राखिएको छ । त्यै पनि कुहियो,’ उनले भने, ‘पालिका जिम्मेवार छ । तर प्राविधिक ज्ञान अलि नभएको जस्तो देखियो । आगामी वर्ष यो समस्या दोहोरिँदैन ।’ काठमाडौंबाट प्राविधिक ल्याएर रेकी गरिसकेको र सुधारको प्रयास भैसकेको उनको भनाइ छ ।

कृषि कार्यालयमै लामो समय सेवा गरेर रिटायर्ड अधिकृत रामबहादुर थापाले समयमै बिउबिजन वितरण नभएकोमा असन्तुष्टि जनाए । ‘घाँस चैतमा दिनुपर्छ । आलु असोजमै ल्याउनुपर्छ । समय घर्केपछि दिएको बिउ कहाँ लगाउने ?,’ उनले प्रश्न गरे । उनले अनुदान वितरण पारदर्शी नभएको बताए । थापाले बाँदरका कारण खेतबारी बाँझो हुने अवस्थामा पुगेको भन्दै पालिकाको ध्यानाकर्षण गराए ।

म्याग्दे गाउँपालिकाले गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा उनले बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम माग गरे । ‘सबैको घरघरै बाँदर आउन थाल्यो । अघिल्लो वर्ष २ लाखमा बेचेको सुन्तला अहिले ६७ किलो मात्रै भयो । एकपटक बाँदर पस्यो भने ४० हजार नोक्सान हुन्छ,’ उनी भन्छन्, ‘किसानलाई गरी खानै नदिने भयो । नियन्त्रणको उपाय चाहियो ।’ उनले वनमा फलफूल लगाएर भए पनि बाँदर गाउँ नपस्ने वातावरण बनाउन पालिकाले विशेष अभियान चलाउनुपर्ने सुझाव दिए ।

म्याग्देमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ

पालिका उपाध्यक्ष बालकृष्ण घिमिरे बाँदर नियन्त्रण पालिकाको एकल प्रयासले मात्रै सम्भव नहुने बताउँछन् । ‘देशैभरी समस्या छ । वैकल्पिक खेती प्रणाली अपनाउन सके क्षति कम होला,’ उनले भने । निर्माण व्यवसायी समेत रहेका कृष्णराज घिमिरेले कर्मचारी जिम्मेवार हुन नसकेकोमा असन्तुष्ट बने । ‘यसपालि हाकिम साव चीन भ्रमणमा जानुभएछ, किसानले घाँसको बिउ पाएनन्,’ उनले भने, ‘हाकिम नभएपनि जिम्मेवारी लिएर काम गर्ने कर्मचारी पालिकामा किन छैनन् ?’ उनले सेवा लिन जाँदा पटक– पटक धाउनुपर्ने अवस्था अन्त्य नभएको बताए ।

कार्यक्रमका सहभागीले पृथ्वी राजमार्ग निर्माणक्रममा पुरिएका पानीको मूल संरक्षण नगरिएको, राजमार्गको राइट अफ वे मिचेर संरचना निर्माण भइरहेको, सार्वजनिक जग्गाको संरक्षण हुन नसकेको, सडकमा पर्ने जग्गाको लगत कट्टा नगरिएको जस्तो प्रश्न गरे । पालिकाले नै दिएको सामुदायिक विद्यालयको बस सञ्चालन गर्न नसकिएकोले सञ्चालन खर्चको व्यवस्था गरिदिन पनि उनीहरुले माग गरे । अधिकांश सहभागीले ढुंगा, गिटी, बालुवाको अवैध निकासी र मनपरी उत्खनन् भएकोमा पालिकालाई सचेत गराए । पालिकामा अक्सिजनको अभाव रहेको, एम्बुलेन्सले छोटो दुरीमा पनि चर्को भाडा लिने गरेको, नियमित बजार अनुगमन नभएको, टुक्रेयोजना बढी हुँदा प्रभावकारी विकास नभएको जस्ता गुनासा राखे । जवाफमा उपाध्यक्ष घिमिरेले बजार अनुगमन निरन्तर चलिरहेको बताए । ‘अनुगमन तीनै तहले गरिरहेको छ । तामझाम गरेरै गर्नुपर्छ भन्ने छैन हामीले गोप्य रुपमा गरिरहेका छौं,’ उनले भने, ‘कति पसलेलाई लाखौं जरिवाना तिराइएको छ । कति पसलका सामान नष्ट गरिएको छ ।’

पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आफूहरुले राम्रो काम गरिरहे पनि नकारात्मक टिप्पणी बढी भएको गुनासो गरे । ‘टुप्पीदेखि पैतलासम्मको बल लगाएर म्याग्देलाई समृद्ध बनाउन लागिरहेका छौं । अरु भन्दा उत्कृष्ट पालिका बनेको छ,’ उनले भने, ‘तर प्रश्न चाहिँ केही नगरेको जस्तो गरी आउँछ । कहिलेकाहीँ त नचाहिने काममा हिंडिएछजस्तो लाग्छ । क्यार्न यो ठाउँमा आइयो होलाजस्तो पनि हुन्छ ।’ उनले नकारात्मक टिप्पणीले पालिका सुधार नहुने भन्दै गरेका राम्रा काममा धन्यवाद दिने बानीको विकास हुन नसकेको बताए । उनले हालसम्म पारदर्शी हिसाबले नै काम गरिरहेको दाबी गरे । कार्यक्रममा पालिकाका सबै शाखाको प्रगति प्रतिवेदन र वडा १, २ र ३ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा पालिकाको समग्र विकास निर्माण र सेवा प्रवाहबारे प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले प्रस्तुति राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width