ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८१
prakash bahadur kc

बागलुङ । गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) छड्के निरीक्षण गरेका छन् ।

ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ–१, खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् ।

दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई मन्त्री केसीले निर्देशन दिए । मन्त्री केसीले दुईपाङ्ग्रे प्रयोगात्मक परीक्षाको करिब १५ मिनेट अवलोकन गरे । उनले प्रयोगात्मक परिक्षा स्थलमा खटिएका यातायात व्यवस्था कार्यालय बागलुङका नि.कार्यालय प्रमुख घिमिरे, ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख न्यूरे र अन्य कर्मचारीलाई पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न निर्देशन दिए । उनले सीसीटिभी फुटेज एक महिनासम्म रेकर्ड राख्ने, भीडभाड नगर्ने, परीक्षा स्थललाई सफा राख्ने र परिक्षार्थीले मनोबल उच्च रहनेगरी परीक्षा दिने वातावरण मिलाउन कर्मचारी र ट्राफिक प्रहरीलाई आग्रह गरे ।

एमालेका सांसद केसी गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका हुन् ।

मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठी लगायतमा समय खेर नफाल्ने निर्णय गरेका थिए । २ महिना मन्त्रालयको कामकारबाहीको अवस्था बुझेपछि उनी फिल्ड भिजिटमा निस्केका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post