उचाइ थप्दै स्रष्टा समाज

आदर्श समाज सम्वाददाता
मंसिर १, २०८१
samman 2

पोखरा । नियमित सृजना वाचन कार्यक्रम सञ्चालन गरेर लोकप्रियता हासिल गरेको स्रष्टा समाज पुम्दीभुम्दीले आफ्ना विविध गतिविधिमार्फत उचाइ थप्दै गएको छ ।

संस्थाले शनिबार तेस्रो वार्षिक साधारण सभा गर्‍याे । उक्त कार्यक्रममा पनि स्रष्टाले आफ्नो रचना प्रस्तुत गरे ।

कार्यक्रम उद्घाटन गर्दै छन्दनायक माधव वियोगीले कवि कलाकार भएको समाज नै सभ्य समाज भनेर चिनिने बताए । छन्दमा कविता लेख्न गाह्रो नभएको बताउँदै उनले संस्थालाई आवश्यक परे आफू छन्द प्रशिक्षणका लागि सहयोग गर्न तयार रहेको बताए ।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुम्दीभुम्दीमा धेरै प्रतिभाहरु भएको उल्लेख गर्दै स्रष्टा समाज सामूहिक एकतासाथ अघि बढेकोमा खुसी व्यक्त गरे ।

अग्रज पत्रकार रवीन्द्र माकाजूले संस्था नामले भन्दा कामले चिनिने बताए ।

त्यस अवसरमा लोकगायक हेमराज बराल र गायिका पिङ्गला भट्टले गीत तथा शोभाखर, युवराज, जीवनाथ र सुशील बरालले भजन प्रस्तुत गरेका थिए । कवि कवियित्री सुरज उपाध्याय, गोविन्दप्रसाद बराल, कृष्णप्रसाद बास्तोला, नन्दलाल बराल, हरिप्रसाद बराल, गुरुप्रसाद बराल, निर्मला अर्याल, सावित्री बराल, रञ्जना ढुंगाना र बद्रीनाथ बास्तोलाले कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. खगराज बराल, अमृत गुरुङ, प्राज्ञ नारायण मरासिनी र सहप्राध्यापक भीमनाथ बरालले शुभकामना दिएका थिए ।

स्रष्टा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष संगीतकार नवराज बरालले स्वागत तथा सचिव ध्रुवराज बरालले सञ्चालन गरेका थिए ।
साधारण सभाले सचिव ध्रुवराज बरालबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गुरुप्रसाद बरालबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width