लोपोन्मुख नाच देखाउँदै प्रज्ञा–प्रतिष्ठान

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०८१
gandaki academy

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी लोपोन्मुख नाच प्रदर्शन गर्ने भएको छ ।

आगामी मंसिरमा १० दिनसम्म चल्ने गरी नाच तयारी गरिएको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानीसमेत भएकाले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका २ घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुति राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् ।

प्रतिष्ठानले पुस पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुति ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउन यो कार्यक्रम गर्न लागिएको हो ।

प्रतिष्ठानले चालु आवको पहिलो चौमासिकसम्म ५७ कार्यक्रममध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एकमहिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए ।

प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङ्मयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए ।

गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्रष्टाको क्याटगोरी आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट व्यवस्था गर्न खोजिएको छ ।

यो वर्ष १५ जना स्रष्टाको बायोग्राफीसमेत तयार पारिएको जनाइएको छ । यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का ‘बिखर्ची’, सुमनकुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, संगीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धनबहादुर गुरुङ र टकबहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्राडा जगन्नाथ रेग्मी, प्राडा यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोकप्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width