पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै आएको त्यो लाँवालस्कर सेती किनारमा पुगी विधिपूर्वक पूजा गरी तोरण नदी तारिन्छ । पुनः बाजागाजा र भजनकीर्तन तालमा नाचगान गर्दै फर्किन्छन् ।
यो दृष्य पोखरा तुलसीघाट (रामघाट) क्षेत्रमा मंगलबार दिनभर चलिरह्यो । हरिबोधिनी एकादशीको अवसरमा यस क्षेत्रमा बर्सेनि यस्तै दृश्य दोहोरिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा गरिन्छ । यसै दिन विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको धार्मिक विश्वास आधारमा तुलसीको पूजा गर्ने चलन छ ।
मंगलबार सेती नदीमा फूल तार्न ठूलो संख्यामा भक्तजन डोलीमा फूल, प्रसाद लिएर सेतीमा पुगेका थिए । भजन, कीर्तन, नाचगान गरेर भक्तजन सेती नदीमा पूजा गरेर तोरन सेती नदीमा तारे । सेती नदी किनारको विभिन्न स्थानमा बिहानैदेखि फूल तार्न र पूजा गर्ने भक्तजनको मेला लागेको थियो । सेती किनारको गाईघाट, तुलसीघाट, नारायणथान मन्दिरलगायत क्षेत्रमा एकादशीको दिन भीड हुने गरे पनि रामघाट क्षेत्रमा बढी मात्रामा भक्तजन पुग्ने गरेको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समिति अध्यक्ष रोशन मानन्धरले बताए ।
मंगलबार सेती नदीमा फूल तार्न ठूलो संख्यामा भक्तजन डोलीमा फूल, प्रसाद लिएर सेतीमा पुगेका थिए ।
भक्तजनको मनोकांक्षालाई ध्यानमा राखी समितिले हरेक वर्ष तुलसी विवाह एवं हरिबोधिनी एकादशी मेला आयोजना गर्दै आएको मानन्धरले बताए । सोहीअनुसार गत वर्षभन्दा यो वर्ष बढी भक्तजन उक्त क्षेत्रमा पुगेको उनले जानकारी दिए । ‘गत वर्ष घाट जाने बाटोमा पुल बन्दै थियो । त्यसैले कम मात्रामा मानिसहरु पुगेका थिए,’ उनले भने, ‘यो वर्ष कुनै समस्या छैन । यो वर्ष अत्यधिक भक्तजन आउनुभएको थियो ।’ त्यससँगै पूजापाठ गर्न, तुलसीको बिहे गर्न, स्नान गर्न र मेला हेर्न उत्तिकै संख्यामा रामघाट क्षेत्रमा मानिसहरु पुगे ।
‘अरु ठाउँमा भन्दा रामघाट क्षेत्रमा धेरै नै भक्तजनहरु आउनुहुन्छ । बिहानदेखि बेलुकासम्म ३० भन्दा बढी फूलको डोली ल्याइएको थियो,’ उनले भने, ‘डोली तार्नेहरु पनि धेरै नै थिए । हामीसँग ठ्याक्कै तथ्यांक त छैन तर ५ हजारभन्दा बढी भक्तजन रामघाट क्षेत्रमा आएको आकलन हो ।’ हरिबोधिनी एकादशी मनाउन कास्कीका विभिन्न स्थानसहित स्याङ्जा, पर्वत, तनहुँ लगायत छिमेकी जिल्लाबाट भक्तजन यहाँ आएका थिए ।
तुलसी विवाह महोत्सवलाई हर्षोल्लास तथा व्यवस्थितरुपमा मनाउन धार्मिक क्षेत्र विकास समितिलगायत सामाजिक, संघसंस्था र स्थानीय तहसमेतको सहभागिता थियो ।
भक्तजनको सुविधालाई मध्यनजर गरी सो क्षेत्रमा भौतिक संरचना बनाइरहेको समितिका सचिव उत्तम जोशीले जानकारी दिए । ‘अघिल्लो वर्ष ॐ को प्रतिमा बनाएको हो । यो वर्ष वडाले बजेट दिएपछि केही थपेका छौं,’ उनले भने, ‘अहिले १०८ शिवलिंग, एउटा गणेशको मन्दिर अनि ५ वटा ढुंगेधारासँगै मर्मत सम्भार र गार्डेनिङ काम गरियो ।’ आगामी वर्षका लागि संचरना थप्दै जाने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१