रवि लामिछानेलाई रुपन्देही लगियो

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८१
ravi lamichne

पोखरा, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ । बिहान भिजिविलिटी नहुँदा उडान हुन सकेको थिएन । करिब ४ घण्टासम्म विमानस्थलमा कुरेर उडान भएको हो । बुद्ध एयरको विमानमार्फत निर्धारित समय बिहान ७ बजेर ४५ मिनेटको उडानका लागि रविलाई बिहानै पोखरा विमानस्थल पु¥याएको थियो। उडान भने १२ बजेमात्र भयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

पोखरामा प्रधानकार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । यसरी आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहने छन् ।

यसैबीच, रास्वपाका कार्यकर्ताले भने राजनीतिक प्रतिशोधको आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width