प्याब्सन स्पोर्टस् मिटमा हिमचुली च्याम्पियन

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८१
sports meet lamjung

लमजुङ । प्याब्सन लमजुङ आयोजनामा स्पोर्टस् मिट–२०८१ सम्पन्न भएको छ । चारदिवसीय प्रतियोगितामा हिमचुली आमावि खुदी च्याम्पियन बनेको छ । यस्तै, युनिभर्सल एकेडेमी बेसीशहर दोस्रो र भूपू सैनिक आमावि बेसीशहर तेस्रो भए ।

१११ अंकका साथ हिमचुली आमावि खुदी पहिलो भएको हो । युनिभरसलले १०५ र भूपू सैनिकले १०३ अंक ल्याएको प्याब्सन लमजुङ सचिव विमल अधिकारीले बताए ।

स्पोर्टस् मिटअन्तर्गत बेसीशहर र सुन्दरबजारमा विभिन्न खेल भएका हुन् । अधिकारीले भने, ‘प्रतियोगिताको अन्तिम दिन फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन र टेबलटेनिस खेल सम्पन्न भएसँगै नतिजा घोषणा भएको हो ।’ सहजी खेल मैदानमा भएको छात्र फुटबल प्रतियोगितामा युनिभर्सल एकेडेमी बेसीशहर पहिलो, अर्थली प्याराडाइज बेसीशहर दोस्रो र पश्चिमभूमि मध्येनेपाल तेस्रो भए ।

त्यस्तै, भलिबलमा छात्रतर्फ हिमाली आमावि भोर्लेटार पहिलो, हिमचुली खुदी दोस्रो र ग्रिनभ्याली भोर्लेटार तेस्रो भए । छात्रातर्फको सोही खेलमा भूपू सैनिक बेसीशहर पहिलो, हिमचुली दोस्रो र युनिभर्सल एकेडेमी तेस्रो भए । बास्केटबलमा छात्रतर्फ भूपू बेसीशहर पहिलो, भूपू सैनिक भोटेओडार दोस्रो र विद्यालयविकास मावि बेसीशहर तेस्रो भए । छात्रा बास्केटबलमा ल्याण्डस्टार बेसीशहर पहिलो, अर्थली बेसीशहर दोस्रो र विद्याविकास मावि तेस्रो भए ।

त्यस्तै, व्याडमिन्टनमा छात्रतर्फ युनिभर्सल एकेडेमी पहिलो, बुद्ध मेमोरियल दोस्रो र हिमचुली खुदी तेस्रो भए । सोही इभेन्टमा छात्रातर्फ विद्याविकास मावि पहिलो, युनिभर्सल दोस्रो र हिमचुली तेस्रो भए ।

टेबलटेनिसमा छात्रातर्फ भूपू बेसीशहर पहिलो, युनिभर्सल एकेडेमी दोस्रो र बुद्ध मेमोरियल तेस्रो भए । छात्रतर्फ हिमचुली पहिलो, भूपू भोटेओडार दोस्रो र अथर््ली बेसीशहर तेस्रो भए ।

प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ १५ सय मिटर दौड, १०० मिटर, २०० र ४०० मिटर दौड, रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, गणित दौड, भलिबल, फुटबल प्रतियोगिता भएको प्याब्सन लमजुङ अध्यक्ष मेन घलेले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १७ विद्यालयका एक हजार वढी विद्यार्थीले भाग लिएका थिए । विजेतालाई प्याव्सन दिवस (२४ पुस) मा पुरस्कार वितरण गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width