एकादशी मेला रौनक, ४ पालिकाले दिए बिदा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८१
Ekadasi Mela AS

लमजुङ । लमजुङमा कार्तिक शुल्क हरिबोधनी एकादशी मेलाको तयारी पूरा भएको छ । मेला विशेष बनाउन जिल्लाका चार पालिकाले मंगलबार स्थानीय बिदा घोषणासमेत गरेका छन् ।

यस दिन लमजुङको पूर्वी सीमा चेपे नदी, पश्चिम भागमा कास्की सीमासँग जोडिएको मादी नदी किनार तथा दक्षिणतर्फ तनहुँ जिल्लासँग सीमा जोडिएको सिसाघाटस्थित मादी नदी किनारका साथै जिल्लाको झण्डै मध्यभागबाट बग्ने मस्र्याङ्दी नदी किनारको खुदी र पाउँदी दोभानमा विशेष मेला लाग्ने गर्दछ ।

मेलामा फूल अर्थात् फूलमाला, फल आदि उनिएका तोरणको डोली बाजागाजाका साथ नदी किनारमा पुगेर तार्ने काम समेत गरिन्छ । त्यसबाहेक सुन्दरबजार–८ र दोर्दी–१ को मस्र्याङदी नदीकै बेलघारी क्षेत्रमा पनि फूल तार्ने तयारी छ । यी स्थानमा विशेष मेला समेत लाग्ने गर्दछ ।

सोही मेलाको व्यवस्थापन कार्यको महत्व बढाउन, पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लाका चार पालिकाहरू मस्र्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाले स्थानीय बिदा दिएको ती पालिकाहरूले सूचनामार्फत जनाएका छन् । हरिबोधनी एकादशीको धार्मिक महत्व उजागर गर्न मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको पाँचदिने मस्र्याङ्दी महोत्सवको उद्घाटन एकादशीकै दिन मंगलबार हुने गरी तयारी अन्तिम चरणमा पुगेको सो गाउँपालिकाले जनाएको छ ।

मस्र्याङ्दी–३, खुदी बजारमा हरेक वर्ष एकादशी मेला लाग्ने गर्दछ । सोही स्थानमा रहेको कर्मदा र शीतप्रवाह नदीको संगम स्थलमा फूल तार्नका लागि तीन टोलीले दर्ता गरिसकेको एकादशी मेला आयोजक खुदी युथ सोसाइटी अध्यक्ष राम थापाले बताए । एकादशी मेला २ दिनसम्म सञ्चालन गर्ने कार्यक्रम छ । उनले भने, ‘यो वर्ष स्थानीय कृषि र पशुजन्य अर्गानिक उत्पादनहरुसमेत बिक्रीमा राखिने भएको हुँदा गत वर्षभन्दा यो वर्ष आकर्षण बढ्ने आशा गरिएको छ । एकदशी मेलाकै अवसरमा खुला भलिबल प्रतियोगितासमेत सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

यसैगरी, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र तनहुँको भानु नगरपालिकाको संगमस्थलका साथै लमजुङको प्रवेश नाकाका रुपमा परिचित पाउँदी दोभानमा एकादशी मेलाको भव्य तयारी अन्तिम चरणमा पुगेको मेलाको आयोजक महादेव मन्दिर संरक्षण समिति सदस्य साहित्यकार लक्ष्मीप्रसाद मिश्रले बताए । उनका अनुसार मस्र्याङ्दी नदीमा फूल तार्नका लागि सात टोलीले नाम लेखाइसकेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने छन् । उनले भने, ‘मेलामा ३५ हजारदेखि ४० हजार दर्शक आउने अनुमान गरिएको छ ।’ सो स्थानमा दुईवटा विशाल महादेव मन्दिर समेत रहेका छन् ।

यसैगरी, मध्यनेपाल ४, सिसाघाटमा पनि एकादशी मेलाको तयारी चलिरहेको स्थानीय भविष्य निर्माण बोर्डिङ स्कूलका संस्थापक निर्देशक तीर्थराज पराजुलीले बताए । उनका अनुसार यहाँको गौरीशंकर मन्दिर व्यवस्थापक समितिले एउटा फूल तार्ने तयारी गरेको छ, अन्य व्यक्तिगत पनि फूलका डोली आउँछन्, हरेक वर्ष पाँच सात वटा फूलको डोली तार्ने गरिन्छ ।

उता, मध्यनेपाल–६, भोर्लेटारको रानीपानी गाउँ स्थित नारायण मन्दिर व्यवस्थापन समितिले पनि एकादशीका दिनमा फूल तार्ने तयारी छ । फूल तार्ने अघिल्लो दिन गरिने सत्य नारायणको पूजा सोमबार दिउँसो १ बजेबाट संयुक्त रुपमा सुरु भएको सो समितिका अध्यक्ष मानकुमारी कुँवरले बताइन् । उनका अनुसार नारायण मन्दिर व्यवस्थापन समितिमा यस गाउँका ५० घरपरिवारका महिला आवद्ध रहेको र प्रायः ती सबैले नारायण पुजाको कर्ता बनेका छन् । उक्त नारायण मन्दिर २०५४ सालमा निर्माण गरिआएको नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य पुष्पा पराजुली केसीले बताइन् । उनका अनुसार कोरोनाका दुई वर्ष बाहेक हरेक वर्ष समितिले फूलको डोली तार्ने काम गर्न नसकेको हो अन्य सबै वर्ष यो काम गरिरहेका छौं । उनले भनिन्, ‘कास्की जिल्ला र लमजुङको सीमानामा रहेको मादी नदीमा लगेर फूलको डोली तार्ने काम हुन्छ ।’ त्यसको तयारी कार्य ५ दिन अघिदेखि नै थालिएको हो ।

सोमबार साँझदेखि पञ्चैबाजाको टोली समेत आएर रातभर भजन कीर्तन, दोहोरी गाएर जाग्राम बसेर मंगलबार बिहान उज्यालो भएपछि बाजागाजाका साथमा फूलको डोली लिएर नदी किनारमा पुगेर तार्ने काम गर्ने गरेको नारायण मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष देवी पराजुलीले जानकारी दिइन् ।

यसैगरी, राइनास वडा १, ४, ५ र ६ मा रहेको चेपे नदी किनारमा पनि स्थानीय जम्मा भएर नदी स्नान गर्ने, चक्रचीर्थ धाममा फूलको डोली तार्ने काम हुने गरेको यो वर्ष पनि तयारी चलिरहेको स्थानीय पत्रकार वसन्ता भट्टले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width