पोखरा । कात्तिक १४ गते बसेको ३७ औं कार्यपालिका बैठकबाट करारका ३५ कर्मचारी हटाउने निर्णय गरेपछि एमाले महानगर विरुद्ध आन्दोलित भएको छ । एमालेका कर्मचारीहरु र जनप्रतिनिधिले संयुक्त रुपमा महानगरको निर्णय विरुद्ध नाराबाजी र धर्ना बसेका हुन् । लोकसेवा आयोगबाट स्थायी कर्मचारी पदपुर्ति भएपछि कार्यपालिकाले २८ प्राविधिक, ७ शिक्षिका र सामाजिक परिचालिका हटाउने निर्णय गरेको हो । उक्त निर्णय राजनीतिक पूर्वाग्रहपूर्ण भएको आरोप सहित एमालेले प्रदर्शन गरेको हो । कात्तिकसम्मको तलव र चाडपर्व खर्च दिएर उनीहरुलाई मंसिर १ देखि विदा गर्ने निर्णय महानगरले जनाएको छ ।
उक्त बैठक एमालेले बहिष्कार गरेको थियो भने बैठकका निर्णय सार्वजनिक हुने वित्तिकै विरोध गर्दै आएको छ । काँग्रेसले चाहिँ करार कर्मचारी जुनसुकै हालतमा हटाउनुपर्ने दवाव दिएको थियो । आइतबार पनि एमालेले प्रदर्शन जारी राख्यो । पोखरा महानगरपालिकाका नगर उपप्रमुख बिदामा रहेको र दीपावलीको सार्वजनिक बिदाको मौका छोपी स्वार्थ समूहको प्रभावमा उक्त निर्णय गरिएको आरोप एमालेको छ ।
मेयरलाई १० बुँदे ध्यानाकर्षण
यसैबीच, एमालेले मेयर धनराज आचार्यलाई १० बुँदाको ध्यानाकर्षण पत्र बुझाएको छ । कात्तिक १४ गते बसेको कार्यपालिका बैठकको निर्णय खारेज हुनुपर्ने, २५ औं कार्यपालिका बैठकको निर्णय हुवहु कार्यान्वयन गर्नुपर्ने, ओएण्डएम तत्काल गर्नुपर्ने, दरबन्दी बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्नुपर्ने माग राखेको छ । यस्तै, प्रशासन महाशाखाले राजनीतिक चलखेल गरेको आरोप सहित उक्त चलखेल नगर्न पनि एमालेले चेतावनी दिएको छ । अनावश्यक रुपमा आर्थिक सहायता वितरण भैरहेकोले यसलाई नियन्त्रणको माग एमालेले गरेको छ । १५ औं नगरसभाबाट मणिपाल शिक्षण अस्पतालको राजश्व छुट सम्बन्धी निर्णय पुनरावलोकन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । फोहोरमैला प्रशोधन केन्द्रको प्रगति विवरण सार्वजनिक गर्न, पोखरा बसपार्क, सभागृह, प्रशासनीक भवन निर्माण, फेवाताल र फिर्केको मापदण्ड कार्यान्वयन गर्न पनि एमालेले मेयरलाई ध्यानाकर्षण गराएको छ ।
दलका उपनेता राधिका शाही योगीले २ दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता मेयर आचार्यले गरेपछि आन्दोलन स्थगीत भएको जानकारी दिइन् । ‘करारका कर्मचारीको मात्रै होइन । समग्र महानगरपालिकाको सुशासनको लागि आवाज उठाएका हौं,’ उनले भनिन्, ‘२५ औं कार्यपालिका बैठकले काज फिर्ताको निर्णय गरेको छ, त्यो कार्यान्वयन खै ? ओ एण्ड एम नै नगरीकन करार कर्मचारी फाल्न मिल्दैन । हाम्रा माग मेयरलाई सुनायौं, उहाँ समाधान गर्न तयार हुनुभयो । आन्दोलन अहिलेलाई स्थगीत भएको छ ।’ उनले काजमा आएका सबै कर्मचारी तुरुन्त फिर्ता हुनुपर्ने दोहो¥याइन् ।
निकास राजनीतिक सहमतिबाटै
मेयर धनराज आचार्यले संगठन तथा व्यवस्थापन सर्भेक्षण टुंगिएपछि राजनीतिक बार्ता र छलफलबाट नै समस्या समाधान हुने बताए । पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा बनेको समितिले संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर महानगरमा बुझाएको छ । उक्त सर्भेक्षण महानगरको नीति योजना आयोगले पनि लगभग टुंगो लगाइसकेको आचार्यले बताए । ‘अब लोकसेवामा माग आकृति फाराम भरेर महानगरले पठाउँछ । आयोगबाट कर्मचारी आएपछि करार हट्दै जान्छन्,’ उनले भने, ‘अहिले दलको जुंगाको लडाईं जस्तो देखिएको छ । समस्या समाधानका लागि सबैले सघाउनुपर्छ ।’ उनले डेढ दुई वर्षमा सबै कर्मचारी प्रणालीगत प्रक्रियामा प्रवेश हुने बताए । यसअघि प्रदेशसँग आयोग नभएकोले महानगरले व्यवस्थापन गर्न गाह्रो भएको भन्दै उनले अब व्यवस्थित गर्दै लैजाने सुनाए ।
‘यसअघि विभिन्न कारणले व्यवस्थित हुन सकेको छैन । अहिले आएर प्रदेशको निजामति कितावखाना बनेको छ । अब करार कर्मचारी नियुक्त नगर्ने भन्ने स्पष्ट नीति आएको छ,’ अघि भने, ‘यसकै आधारमा २५ औं कार्यपालिका बैठकले त्यतातिर जाने गरी निर्णय भएको छ ।’ २५ औं कार्यपालिका बैठकले करार कर्मचारी कनिष्ठताका आधारमा हटाउँदै लैजाने र संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने निर्णय गरेको थियो । यस्तै, काजमा आएका कर्मचारी फिर्ता पठाउने निर्णयमा पनि दलहरु सहमत भएका थिए । ‘हामीले आवश्यक कर्मचारीको माग आकृति फाराम भरेर आयोगमा पठायौं । अन्तिम पटकलाई करारको म्याद असार मसान्तसम्म थप्यौं,’ आचार्य भन्छन्, ‘यसबीचमा पनि पटक पटक मिटिङ बसेको छ । तर अन्तिम बैठकमा एमाले जानकारी नगराई अनुपस्थित भएको हो । गणपुरक संख्या पुगेपछि निर्णयमा जानुपर्छ । निर्णय ग¥यौं ।’ उक्त निर्णयको एमालेले अहिले विरोध जनाएको छ । मेयर आचार्यले राजनीतिक रुपबाट मात्रै यसको समाधान गर्न सकिने बताए ।
१२९ को आदेश विरुद्ध अदालत जाने
अघिल्लो वर्ष महानगरपालिकाले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोकसेवा आयोगले बदर गरिदिएपछि बचाउका लागि महानगरपालिका अदालत जाने भएको छ । मेयर धनराज आचार्यले सर्वोच्चकै आदेश अनुसार कर्मचारी स्थायी गरिएकोले आयोगको आदेशबारे छलफल गर्ने बताए । ‘सर्वोच्चले स्थायी गर्नू भनेर गरेको हो । हाम्रो कुनै स्वार्थ छैन,’ उनले भने, ‘अहिले आयोगले बदर गरेछ । हामी बसेर छलफल गर्छौं । कुरा मिलेन भने अदालत जानुको विकल्प छैन ।’
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१