रवि लामिछानेलाई १३ दिन म्याद थप

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०८१
Rabi

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित ४ जनालाई अनुसन्धान गर्न कास्की प्रहरीलाई थप १३ दिनको म्याद अनुमति दिएको हो । पूर्व डिआईजी छविलाल बञ्जाडे जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लीला पछाईं अब ७ मंसिरसम्म हिरासत रहने छन् ।

गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई चौथोपल्ट म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइएको थियो । यसअघि, उनलाई पहिलोपटक ६ दिन, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायतको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।

आइतबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु मेघराज घिमिरे, सुशील पन्त र नारायण घिमिरे तथा अधिवक्ता रेनुका सिटौलाले बहस गरेका थिए । जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए । जाहेरवाला कृष्णराज जैसीको तर्फबाट अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट सरकारी वकिलहरुसहित अधिवक्ता वेदबहादुर (बिबि) बिष्टले बहस गरेका थिए । गोर्खा मिडियाका पूर्व उपाध्यक्षसमेत रहेका पूर्व डिआईजी जोशीलाई आइतबार अदालत उपस्थित गराउँदा पटक पटक गरी ५२ दिनको म्याद पूरा भइसकेको थियो ।

संगठित अपराधमा ६० दिनभित्र अभियोजन गरिसक्र्ने हुन्छ । आइतबारको आदेशले थप १३ दिनको म्याद थप भएबाट उनलाई सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउने सम्भावना प्रवल देखिन्छ । आइतबारको बहसमा न्यायाधीश दाहालले रवि सहित दुवै पक्षलाई पटक पटक प्रश्न गरेका थिए । लामिछाने पक्षका वकिलहरुले लामिछानेको अनुसन्धान भैसकेको र ठगीको कुनै प्रमाण नभएकोले छोड्नुपर्ने दावी गरेका थिए भने पीडितपक्षका वकिलहरुले अझै अनुसन्धान गर्नुपर्ने र नयाँ खुलासाहरु हुँदै गएकोले हिरासतमा राख्नुपर्ने माग गरेका थिए ।

रास्वपाको प्रदर्शन निरन्तर

यता, रास्वपाका कार्यकर्ताले भने लामिछानेको रिहाइको माग गर्दै आइतबार पनि पोखराको महेन्द्रपुल क्षेत्रमा विरोध प्रदर्शन गरे । पोखराको सहिदचोक तथा गैह्रापाटन क्षेत्रमा निषेधाज्ञा कायम भएकाले सर्वसाधारणलाई त्यस क्षेत्रमा हिंडडुल गर्न समेत रोक लगाइएको थियो । जीरो किलोमिटरबाट सुरु भएको ¥याली महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको हो ।

सभालाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापतिमा अरुको विकल्प नरहेको बताएका छन् । पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनले यस्तो बताएका हुन् । ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ या पाउँदैन त्यो गौण कुरा हो । त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसेपनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’ अहिले रास्वपामा रवि जेल गए कार्यवाहक सभापति को हुने भन्ने विवाद छ ।

दुई उपसभापति बीच कुरा नमिलेकै कारण कार्यवाहक सभापति तोकिएको छैन । अर्यालले जेलमा बसेर पार्टी चलाएका संसारमा उदाहरण धेरै भएको भन्दै प्रधानमन्त्रीको कुर्सीमै रहेकाहरूले पनि जेलबाट देश चलाएको बताए । उनले भने ‘संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमा हुँदा पनि पार्टीको नेतृत्व गरेको र जेलबाट निस्केको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेका उदाहरण धेरै छन् ।’ पार्टीको केन्द्रिय समिति बैठकले दोस्रो चरणको आन्दोलनको तयारी गरेको उनले सुनाए । ‘दोस्रो चरणको आन्दोलन ध्यानपुर्वक हुन्छ । यसमा राष्ट्रिय एजेण्डा राखेर गर्छौं,’ अघि थपे ‘सहकारी बचतकर्ताको रकम कसरी फिर्ता गर्ने भन्नेमा सरकारले वहस कहिलै गरेन । पीडित तमाम नागरिकलाई रास्वपालाई विश्वास गर्न आग्रह गर्दछु ।’ रास्वपाले रविलाई अदालत उपस्थित गराएका बेला पोखरामा प्रदर्शन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width