मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०८१
lila adhikari

पोखरा । नक्कली कागजात बनाएर मानव तस्करीको आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् ।
अदालतबाट अनुमति लिएपछि उनलाई आइतबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि लागेको थियो ।

टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।

कात्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो। काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।

डिपोर्ट भएर आएका ३ जनासहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत कीर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्री सहित ७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width