पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०८१
korean

पोखरा । २०६२ पछि सरकारले उपल्लो हिमाली क्षेत्रका विद्यार्थी हिउँदका बेला बेंसी झारेर पढाउने नीति लियो । उपल्लो मुस्ताङका विद्यार्थी पनि यो समय पोखरा आसपास झरेर पढ्न थाले । त्यसको चाँजोपाँजो विद्यालयले नै मिलाउँथ्यो । तर दुईतिर विद्यार्थी पढाउनुपर्दा भौतिक संरचनामा भने निकै समस्या हुन्थ्यो । स्तरीय विद्यालय पोखरामा चाहिँ हँुदैनथ्यो । कतिपय विद्यालयहरुले सामुदायिक भवनहरु भाडामा लिएर विद्यार्थी पढाउन थाले । लोमान्थाङ गाउँपालिकाको छोन्हुप क्षेत्रका विद्यार्थी पनि लामो समय भाडाकै भवनमा बसेर पढे । त्यसो त त्यहाँका विद्यालयलाई भवन बनाउनका लागि पोखरामा जग्गा पनि थिएन ।

समाजसेवी सम्तुक गुरुङ, टासी पासाङ गुरुङ लगायतले मेहनत गरे । ढुकुटी खेलाएर विद्यालयका लागि जग्गा किन्ने पैसाको जोहो गरे । अहिले पोखरा २५, हेमजामा सुविधा सम्पन्न भवन निर्माण भएको छ । भवन चाहिँ कोरियाका दानवीरले बनाइदिएका हुन् । २०७५ सालमा भवन निर्माण भएको थियो । दानवीरले भवन मात्रै बनाइदिएनन्, बेलाबखत रेखदेखका लागि नेपाल आउजाउ गरिरहन्छन् । उनीहरुले अहिले पनि स्कुलको भ्रमण गरे भने विद्यार्थी र अभिभावकहरुसँग भेटघाट गरेर फर्किएका छन् ।

त्यसक्रममा जिन्जु गाङनाम लायन्स क्लबले २४ लाख ३२ हजार आर्थिक सहयोग गरेको छ भने खुग्जे लायन्सले थप २ लाख ९१ हजार रुपैयाँ सहयोग गरेको छ । कोरियनहरुलाई विद्यालयसँग जोडिदिने काम चाहिँ अर्का समाजसेवी कुङ्गा गुरुङले गरिदिएका हुन् । ५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल ४२ जना विद्यार्थी छन् । उनीहरु आवासीय रुपमा बस्छन् र अंग्रेजी माध्यममा पढ्छन् ।

सुरुमा विद्यालयसम्म आइपुगेर भवन निर्माणमा सहयोग गर्ने अभियानका अभियन्ता प्राडा कीम यो की चिया र खाजाको खर्च कटाएर विद्यालयमा सहयोग गरिएको बताउँछन् । ‘तपाईंहरुलाई लाग्ला यो कोरिया सरकारले सहयोग गरेर त्यहीँ पैसा लिएर आएको हो भन्ने । तर सरकारले सहयोग गरेको होइन । हामी सबैले चिया र खाजाको खर्च कटाएर रकम जम्मा गरेका हौं,’ उनले भने, ‘त्यही पैसाबाट विद्यालयलाई सहयोग गर्न पायौं ।’

कोरियाका दानवीरद्वारा पोखरा २५, हेमजामा सुविधा सम्पन्न भवन निर्माण

उनले नै २०७५ मा विद्यालय भवन उद्घाटन गरेका थिए । त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण ६ वर्ष उनीहरु नेपाल आउन पाएनन् । कीमले छोन्हुप जिन्जु आधारभूत विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई कोरिया लगेर उच्च शिक्षामा जोड्ने सपना सुनाए । ‘यहाँबाट विद्यार्थी लैजाने सोच थियो । कोरोनाले रोकियो । अब त्यसलाई कार्यान्वयन गर्छौं । यी नानीबाबुहरुले कोरिया पुगेर काम गर्नुहुन्छ भन्ने सपना छ,’ उनले भने । उनीहरुले कोरोना संक्रमणको समयमा विद्यालयलाई मास्क र स्टेसनरी सामग्री सहयोग पठाएका थिए ।

लायन्स क्लब अध्यक्ष जोङ उन सियोले विद्यालयको स्वामित्व अभिभावक र सरकारले पनि लिनुपर्ने बताए । ‘जिन्जु फोरम मिलेर स्कुललाई केही गर्नुपर्छ भनेर भावना आयो । एकले थुकी सुकी, सय थुकी नदी भन्ने धारणाका साथ एक एक रुपैयाँ उठाएर हामी आएका छौं,’ उनले भने, ‘स्कुलको भवन बन्यो । केही सहयोग गरेकै छौं । अब पालिका र प्रदेशले सहयोग गर्छ भने हामी पनि निरन्तर सहयोग गर्नेछौं ।’ कोरियन दानवीरले सहयोग गरेर विद्यालय बनेका कारण विद्यालयको नाम नै छोन्हुप जिन्जु आधारभूत विद्यालय नामकरण गरिएको छ ।

‘जिन्जु र छोन्हुप गाउँको सम्बन्ध राम्रो होस् भनेर नाम संशोधन गरिएको हो । यसमा हामी खुसी छौं,’ विद्यालयका प्रधानाध्यापक वाङ्दी गुरुङ भन्छन्, ‘यो सम्बन्ध युगौंसम्म जोड्ने हाम्रो चाहना छ ।’ पोखरामा भवनसहित हिउँदमा पढाइ हुन थालेपछि विद्यार्थीले राम्रो नतिजा ल्याउन थालेका उनको भनाइ छ । ‘उतिबेला चिसोमा पनि उतै पढ्नुपर्ने बाध्यता थियो । चिसोको समयमा त कहिलै पढाइ हुँदैनथ्यो,’ उनी भन्छन्, ‘शिक्षा क्षेत्रमा धेरै कमजोर थियो । छोन्हुपका बच्चालाई पनि शिक्षित बनाउन पोखरामा पनि विद्यालय बन्यो । विद्यार्थी पनि बढ्दै गएका छन् । शैक्षिक गुणस्तर राम्रो छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रदेश सांसद नम्डु गुरुङ दुर्गमका बालबालिकाको भविष्यलाई लिएर कोरियन सहयोगीहरुको समर्थनलाई धन्यवाद दिए । ‘हामी पढ्न नपाएर यो अवस्थामा छौं । हाम्रा बालबच्चाको भविष्यको चिन्ता गरेर जुन सहयोग गरिदिनुभयो, तपाईंहरु सबैलाई धन्यवाद,’ उनले भने । उनले विद्यालयको गुणस्तर बढाउन प्रदेश तहमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्वू गुरुङ पालिकाभरिको शैक्षिक गुणस्तरका लागि पालिका चिन्तित रहेको बताउँछन् । उनले शिक्षा क्षेत्रमा पालिकाको लगानी उल्लेख्य रहेको सुनाए । टोलीले विद्यार्थीलाई झोला खरिद गर्न छुट्टै ४ सय अमेरिकी डलर पनि सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width