पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रोपटक ल्यान्ड भएको छ । चार्टर्ड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस–३१९ पोखरा विमानस्थलमा बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा अवतरण भएको थियो ।
पोखरामा शनिबार हुने तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसुदा सुवेदीका अनुसार जहाज चीनको कुनमिङ विमानस्थलबाट चार्टर्ड उडान भरेर आइपुगेको हो ।
सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।
पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किंदा भने काठमाडौं हुँदै फर्किने छन् । पोखराबाट काठमाडौंसम्म यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । पोखरा बसाइँका क्रममा आइतबार चिनियाँ पर्यटकहरुले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।
पोखरा विमानस्थलमा गत ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएको थियो ।
१७ पुस, २०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए ।
चीनको एक्जिम बैंकको ऋण सम्झौतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो । नेपाल सरकारले मुआब्जा लगायतका काममा ४ अर्बभन्दा बढी खर्च गरिसकेको छ । निर्माणमा नेपाल सरकार र चिनियाँ एक्जिम बैंकबीच सम्झौता अनुसार ७ वर्षको ग्रेस अवधि (कुनै पनि व्याज तिर्नुनपर्ने समय) सहित २० वर्ष अवधिमा सम्पूर्ण ऋण चुक्ता गरिसक्नुपर्नेछ । नेपालले १ अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन (२५ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ) ऋण लिएकोमा २० वर्षसम्म साँवा र व्याज गरी २ अर्ब ७६ करोड ४४ लाख २० हजार ८५८ युआन (५२ अर्ब रुपैयाँ) भुक्तान गर्नुपर्छ । व्याजमात्रै ९ अर्ब ९२ करोडभन्दा बढी पर्छ । गत २०७९ चैतदेखि भुक्तानी सुरु भएकोमा ९४ करोड रुपैयाँ बराबरको किस्ता बुझाइसकेको विमानस्थल अधिकारीले जनाए । ऋणसहित दैनिक खर्च र कर्मचारीको तलबमा विमानस्थलले मासिक २५ करोडभन्दा बढी कमाउनुपर्छ । तर, लक्ष्य अनुरुप आम्दानी छैन ।
यति ठूलो रकम तिर्नुपर्नेमा यो विमानस्थल चार्टर्ड र आन्तरिक उडानमै सीमित छ । गत वर्ष २३ भदौको बिहान यहाँ व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थल सञ्चालनको करिब ८ महिनापछि उक्त दिन भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो । भुटानबाट चार्टर्ड भएर बिहान ५ बजेर ५५ मिनेटमा ३ यात्रु लिएर उडेको १ सय ५० सिट क्षमताको उक्त विमान बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण भएको थियो । उक्त जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्किएको थियो । विमानले यहाँ तिर्नुपर्ने रकम तिरेकाले यसैलाई पहिलो व्यावसायिक उडान मानिएको थियो ।
पोखरा आएका यात्रुमा नेपाली, अमेरिकी र भियतनामका एक–एक जना थिए भने पोखराबाट जहाज चढ्ने ४२ यात्रु अमेरिकी, भारतीय र क्यानेडियन पर्यटक हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमानुसार प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउण्ड ह्याडलिङ शुल्क उक्त एयरले तिरेको हो ।
यो विमानस्थलमा होल्डिङ गर्नु पनि नपर्ने, यात्रुलाई पनि सुविधा हुने गरेकोले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग छोटो दुरीका हवाई उडान गर्नुपर्नेमा जोड सर्वत्र उठेको थियो ।
त्यसअघि, ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएको थियो । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो । त्यसबेला विमानस्थलमा भव्य समारोह आयोजना गरिएको थियो ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ दोस्रोपल्ट अवतरण
छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो । त्यसबेला ८० यात्रु आएका थिए ।
२२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमान पोखरा ओर्लिएको थियो । छेन्दुबाट राहत सामग्री लिएर उक्त विमान पोखरा आएको थियो । त्यसको १५ दिनभित्रै ७ मंसिरमा हिमालयन एयरलाइन्सको चार्टर्ड विमान आयो । पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चिनियाँ खेलाडी हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा पोखरा आएका थिए ।
विमानस्थल प्रवक्ता जसुदा सुवेदीका अनुसार हालसम्म यो विमानस्थलमा योसहित ८ वटा अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण भएका छन् ।
यहाँबाट हाल बुद्ध, यती र श्री एयरलायन्सले मात्र सेवा दिएका छन् । पोखराबाट हाल काठमाडौं, भरतपुर र भैरहवामात्र उडान हुने गरेको छ । पोखराको पुरानो विमानस्थलबाट जोमजोम उडान हुन्छ ।
यसअघि, नेपालगञ्ज र सिमरासमेत उडान हुने गरेकोमा अहिले दुवै ठाउँमा यात्रु नपाउँदा उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने एकमात्र फाइदा, रात्रिकालीन उडानले फाइदा पुगेको यात्रु बताउँछन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले यहाँ अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने उदाहरण पटक–पटक पुष्टि भएको भन्दै नियमित उडानको माग गरे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबारको चार्टर्ड फ्लाईटले आफूहरु उत्साहित भएको उल्लेख गर्दै यसरी नियमित उडान सके पोखरा र यस क्षेत्रको पयटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।
गत वर्ष ९ लाखले सेवा लिए
विमानस्थलको रेकर्ड अनुसार सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ लाख ८ हजार जना यात्रुले हवाई सेवा लिएका छन् ।
यस्तै, गएको आर्थिक वर्ष २०८०÷०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ४० करोड रुपैयाँ आम्दानी गरेको छ । विमानस्थल प्रवक्ता जसुदा सुवेदीले गएको वर्ष विमानस्थलले उक्त रकम कमाएको बताइन् ।
उनका अनुसार विमानस्थलले एरोनोटिकल तथा नन–एरोनोटिकल रिभिन्यू (राजस्व) बाट आम्दानी लिन्छ भने विमानस्थल दस्तुर नियमावलीअनुसार ल्याण्डिङ, पार्किङबाट आम्दानी हुन्छ । अरुमा कोठा बहाल, घर बहालबाट पनि आउँछ । तर, सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई विशेष सहुलियत दिने निर्णय लिएकाले यदि अन्तर्राष्ट्रिय उडान भए पनि खासै आम्दानी नहुने सुवेदीको भनाइ छ । उनले भनिन्, ‘सरकारले ल्याण्डिङ, पार्किङमा छुट गरेकोले अन्तर्राष्ट्रिय उडान भए पनि तत्काल हामीलाई खासै फाइदा हुँदैन । प्यासेन्जर ट्याक्स (यात्रु कर) बाट मात्र आउने हो । अरु केही पनि आउँदैन ।’ अन्तर्राष्ट्रिय उडानमा विमानस्थलले प्रतियात्रुबाट ३ हजार रुपैयाँ आम्दानी गर्ने प्रवक्ता सुवेदीले बताइन् । जुन रकम जहाजको टिकटमै जोडिएको हुन्छ ।
आन्तरिकसँगै ३ वटा अन्तर्राष्ट्रिय फ्लाइट नियमित गर्न सके वर्षमा १ अर्ब रुपैयाँ हाराहारी कमाइ हुन सक्ने विमानस्थलले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१