भुरुङ्दी खोला पुल निर्माणमा पहल

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०८१
bhurundi

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका ८ तथा पर्वत मोदी गाउँपालिका १ जोड्ने गरी अलपत्र परेको भुरुङ्दी खोला पूल निर्माण पहल सुरु भएको छ । जिल्ला समन्वय समिति कास्की, अन्नपूर्ण गाउँपालिका तथा सडक डिभिजन कार्यालय पोखराको टोलीद्वारा आइतबार उक्त पुलको स्थलगत अनुगमन गरिएको हो ।

समन्वय प्रमुख लीलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता माल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, समन्वय अधिकारी नवराज बराल, सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोला, प्राविधिक, इञ्जिनियरसहित निर्माण व्यवसायी सम्मिलित टोलीले सो पुल अनुगमन गरेको हो । सडक डिभिजन कार्यालय बााग्लुङमातहतमा करिब ९ वर्ष अगाडि सम्झौता भएको पुलको प्रगति हालसम्म करिब ४० प्रतिशत मात्रै छ ।

उक्त पुल हालै सडक डिभिजन कार्यालय कास्की मातहत हस्तान्तरण भएको थियो । हस्तान्तरण लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल स्वरुप सो अनुगमन गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनले छठ लगत्तै निर्माण अगाडि बढाउने निर्णय भएको पनि सुनाए । सो पुल मृत सञ्जीवनी निर्माण कम्पनीले निर्माण ुसुरु गरेको थियो । जसअनुसार सडक डिभिजन कार्यालय बागलुङमा २०७२ मंसिर ८ मा सम्झौता भएको थियो । पुल तत्कालीन समयमा साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो ।

कुल ४० मिटर लम्बाई तथा २ लेनको पुलको लागत ८ करोड ८८ लाख छ । जसमा घटीघटाउ गरी ६ करोडमा मृत सञ्जीवनीसँग सम्झौता भएको थियो ।

पुल यही वर्षको चैत मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । सम्झौताअनुसार हालसम्म ठेकेदारले करिब १ करोड ५० लाख भुक्तानी लिइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग