सहकारी ठगीमा थप एक पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०८१
surya darsan

पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँ बगालेफाँटका ४८ वर्षीय खनाल लामो समयदेखि फरार थिए ।
उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा शेयरधनी समेत हुन् ।

काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएका उनलाई थप अनुसन्धानका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको छ । गोर्खा ग्रुप अफ कम्पनी लि. र नेचर हब्र्स इन्टरनेशनल गरी दुवै संस्थाका मुख्य संचालक जीबी राई हुन् । उनी अझै फरार छन् ।

सहकारीको रकम नेचर हब्र्समा पनि ल्याएको पाइएपछि खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी राईका व्यावसायिक साझेदार हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एर्व पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने एक सातादेखि कास्की प्रहरी हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत् अपचलन गरेको भन्दैं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ जना व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यहीं प्रकरणका मुख्य अभियुक्त गोर्खा मिडिया प्रालिका तत्कालिन अध्यक्ष जीवी राई भने हालसम्म पनि फरार छन् । उनलाई कास्की जिल्ला अदालतले बिहीबार ७ दिनको म्याद थप गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड ५८ लाख ९ हजार रुपैयाँ नियमविपरीत लगिएको भेटिएको छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट गोर्खा मिडियामा मात्र झण्डै ६५ करोड रुपैयाँ लगिएको थियो । सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर कास्की प्रहरीमा उजुरी परेको थियो ।

सुरु जाहेरी आधारमा सूर्यदर्शनबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत वर्ष २४ भदौमा १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पूर्जी जारी गरिएकोमा अधिकांश फरार छन् । सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्ष्का लागि थुनामा छन् ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • लामिछानेलाई १३ दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०८१
    पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले…
  • टोपीमा लुकाइएको लागुपदार्थ बरामद

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । लागुपदार्थ सहित कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ । हेमजामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना आधारमा…

hero news full width