रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

आदर्श समाज सम्वाददाता
असाेज २२, २०८१
mahesh bhandari

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागिपर्ने बताएका छन् ।

मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डामा एक मिनेट पनि खेर नफालीकाम गर्ने योजना रहेको बताए ।

उनले लामो समयको सञ्चारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशील रहीआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसररुपमा लिएको उल्लेख गरेका छन् ।

‘आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गन्तव्य पोखरा प्रदेशको राजधानी समेत हो । प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता यो प्रदेशको सबैभन्दा सुन्दर पक्ष हुन् । यद्यपि यहाँको धार्मिक, पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे हुनुपर्ने गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारीकरणमा पुराना दलबाट जति हुनुपर्ने थियो त्यति भएन’, उनले भने, ‘समाज र राजनीतिका अगुवाले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ । यस्तोमा नयाँ पुस्तालाई उनीहरूले बुझ्ने भाका र भाषामा प्रदेशमा रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने मेरो प्रयत्न हुनेछ ।’

पार्टीको गण्डकी प्रदेश समितिले उनलाई विभाग प्रमुख बन्न गत माघमा सिफारिस गरेकोमा केन्द्रीय विभागले गत २५ भदौमा अनुमोदन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग