बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८१
gandaki cabinet

पोखरा, १७ असोज । बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ताको खोजी, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको छ ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायत कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ । प्रदेश सरकारले गत वर्ष जाजरकोट र रुकुम पश्चिम भूकम्प प्रभावितहरूका लागि समेत एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतीको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले प्रदेशभर विपद्ले पु¥याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन तयार पार्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width