सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

आदर्श समाज सम्वाददाता
असाेज १७, २०८१
supre court

पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानूनी व्यवस्था रहेको भन्दै सर्वोच्च अदालतले प्रहरीलाई ध्यानाकर्षण गराएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजासले गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक÷शेयर होल्डर तथा संचालकसमेत रहेका जोशीको सम्बन्धमा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएको हो ।

आदेशमा भनिएको छ, ‘…उल्लिखित कसूरमा हालसम्मको अनुसन्धानको अवस्था र आउँदो दशैँ बिदाको अवधिसमेतलाई विचार गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५(१) मा अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौट वा जमानत लिई तारेखमा राख्न सक्ने व्यवस्था रहेको सन्दर्भमा सो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको नामा लेखी पठाइ नियमानुसार गर्नू ।’

जोशी पक्राउ परेपछि परिवारका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले जोशीलाई गैरकानूनी रुपमा हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ ।

अनुसन्धानका लागि दोस्रोपल्ट गत ११ असोजमा ७ दिनको म्याद थपेर हिरासतमा राखिएका जोशीको सम्बन्धमा सर्वोच्चले भनेको छ, ‘हालसम्मको प्राप्त कागजातहरु हेर्दा २०७७।३।२ गते सहकारीको गोर्खा फाइनान्समा रहेको चेकबाट १० लाख यी निवेदकले भुक्तानी लिएको भनी उल्लेख भएकोमा सोही दिन निज निवेदकले गीतेन्द्रबाबु राईको नाममा बैंक चेकमार्फत उक्त १० लाख फिर्ता गरेको भन्ने देखिएको छ । २०७८।६।२३ देखि यी निवेदक गोर्खा मिडिया नेटवर्क प्रालिबाट अलग भइसकेको देखिन्छ ।’ अदालतले १७ असोजदेखि बडादशैँको लामो बिदा अवधि प्रारम्भ हुने उल्लेख गरेको छ ।

सहकारी ठगीमा कास्की प्रहरीले सरकारी वकिलसमक्ष बयान लिएर अनुसन्धान गरिरहेको छ

जोशीलाई काठमाडौंमा ६ असोजमा पक्राउ गरी सो दिन जहाजमार्फत पोखरा ल्याइएको थियो । त्यसको भोलिपल्ट उनलाई कास्की जिल्ला अदालतले ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको थियो । दोस्रोपल्ट थपिएको ७ दिनको म्याद १७ असोज (घटस्थापना) देखि सकिँदैछ ।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन आधारमा अनुसन्धानका लागि काठमाडौं १, नक्साल घर भएका ५९ वर्षीय जोशी पक्राउ परेका हुन् ।

देशका विभिन्न ५ सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी संचालक हुँदा पोखराको सूर्य दर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट उक्त रकम लगिएको उल्लेख छ । गोर्खा मिडियामा सूर्य दर्शनको मात्रै ५ करोड रुपैयाँ गएको देखाइएको छ ।

यता, कास्की प्रहरीले सरकारी वकिलको कार्यालय समक्ष बयान लिएर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग