एयर लिफ्टिङको लागि हेलिकोप्टर किन्ने स्वास्थ्यमन्त्रीको घोषणा

आदर्श समाज सम्वाददाता
असाेज १६, २०८१
Health Minister Pathak

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीले गण्डकीमा बिरामीको उद्धारका लागि ५ वर्षभित्र हेलिकोप्टर व्यवस्था गर्ने घोषणा गरेका छन् ।

मंगलबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले हेलिकोप्टर गण्डकीका लागि अपरिहार्य भएको बताए । ‘हामी निकै विकट भूगोलमा छौं । हेलिकोप्टर सुविधाका लागि होइन । बिरामीको उद्धारका लागि नभै हुन्न,’ उनले भने, ‘प्रदेश सरकारले महँगो शुल्क तिरेर निजी हेलिकोप्टर प्रयोग गर्नुपरेको छ । आफैँ खरिद गरियो भने उद्धारमा सजिलो पनि हुन्छ । शुल्क पनि सस्तो हुन्छ ।’ प्रदेश सरकार स्थापना भएदेखि हालसम्म गण्डकीमा ६६ जना गर्भवती– सुत्केरी महिलाको उद्धार गरिएको छ । एउटै उद्धार गर्दा हेलिकोप्टरमा १ लाख २० हजारदेखि पौने ३ लाखसम्म खर्च गरेको मन्त्रालयले जनाएको छ । सुत्केरी र गर्भवती उद्धारका लागि मात्रै १ करोड ५० लाखभन्दा बढी ४ वर्षमा खर्च भैसकेको स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

हेलिकोप्टर खरिद र व्यवस्थापनका लागि प्रदेशले संघ सरकारसँग प्रस्ताव पनि गरिसकेको छ । यद्यपि प्रक्रिया अघि बढेको छैन । ‘युएनडीपीसँग एउटा ठूलो प्रोजेक्टमा काम हुँदैछ । यदि त्यो सफल भयो भने एयर एम्बुलेन्स आफ्नै राख्ने योजना छ,’ पाठक भन्छन्, ‘मैले ५ वर्षभित्रमा यो काम गर्ने लक्ष्य लिएको छु ।’ उनले मन्त्रालय सम्हालेको १ महिनापछि आयोजना गरेको पत्रकार सम्मेलनमा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका हुन् । ३ महिनाभित्र सक्ने योजनालाई अल्पकालीन, २ वर्षमा सक्नेलाई मध्यमकालीन र ५ वर्षमा सक्ने योजनालाई दीर्घकालीन गरी ३ भागमा वर्गीकरण गरेका छन् ।

एउटै उद्धार गर्दा हेलिकोप्टरमा १ लाख २० हजारदेखि पौने ३ लाखसम्म खर्च हुने गरेको छ

दीर्घकालीनमा ५ वर्षभित्र प्रदेशका अस्पतालमा आवासगृहको व्यवस्थापन गर्ने, क्यान्सर, मिर्गौला, मुटु रोगको उपचारका लागि विशिष्टीकृत अस्पताल र मातृशिशु मलिहा तथा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । यस्तै, नाक, कान, घाँटी, दाँत र आँखाको उपचारका लागि एकीकृत स्वास्थ्य सेवाको रुपमा विस्तार गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, निजी क्षेत्रले लगानी गर्ने जनस्वास्थ्यका क्षेत्र तथा परियोजना पहिचान गरेर लगानीको खाका तयार पार्ने उनको योजना छ ।

प्रस्तावित योजनामा नीतिगत तथा कानूनी सुधार, सुशासन, आपूर्ति, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई समेटिएको छ । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने योजना अघि सारिएको छ । लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्माण गर्ने, धौलागिरी अस्पताल, दमौली अस्पताल र मध्यविन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने योजनालाई पनि समेटेका छन् ।

६ महिनामा सक्ने गरी ४० योजना, २ वर्षमा सक्ने ४९ योजना छन् भने ५ वर्षमा सक्ने १० योजना छन् । ‘स्वास्थ्य क्षेत्रका समस्या भुइँस्तरबाट नै समाधान गर्ने योजना मैले बनाएको छु,’ उनले भने, ‘यसरी लक्ष्य र समय तालिका किटान गरियो भने ठीक हिसाबले हिंड्न सकिन्छ भन्ने लागेको छ ।’ प्रदेशका अस्पतालहरुलाई उपकरणयुक्त बनाउने र अधिकतम् सेवा दिन सक्ने गरी व्यवस्थित बनाउने उनको भनाइ छ । गण्डकीको स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि युएनडीपीले ६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रारम्भिक अनुमान छ । १२ अर्बमध्ये कोशी र गण्डकीलाई बराबर सहयोग गर्न लागेको पाठकले जानकारी दिए । ‘सामान्य हिसाबले बजेट पहिले पनि आइसकेको रहेछ,’ उनले भने, ‘ठूलो रकम संघमै रहेछ । हामीले प्रदेशमा पठाउनुपर्छ भनेर माग गरेका छौं । सम्भवतः आउँछ होला ।’ प्रदेशको मात्रै बजेटबाट भने स्वास्थ्य क्षेत्र सुधारका लागि पर्याप्त नहुने उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

  • म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

    रासस कार्तिक २५, २०८१
    गलेश्वर । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार…
  • चुमनुब्रीले पर्यटकबाट २ महिनामै उठायो आधा करोड

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८१
    पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग प्रवेश गरेवापत लिने शुल्कबाट करिव आधा करोड संकलन गरेको छ । असोज र कात्तिक…
  • के हुन्छ मनाङेको सांसद पद ?

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०८१
    पोखरा । तरबार हानेर मान्छे मार्ने प्रयास गरेको आरोपमा गण्डकीका पुर्व मन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे दोषी…
  • दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।…
  • कोरलामा खानेपानी र शौचालयको अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक १९, २०८१
    म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी…

hero news full width