२०९ को मृत्यु, २९ अझै बेपत्ता

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
narayani river bharatpur

पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९ जना पुगेको छ । यस्तै, २९ जना बेपत्ता र १ सय ४२ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । खोज तथा उद्धारकार्य जारी रही सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४ सय २५ जनाको उद्धार गरिएको थियो ।

मन्त्रालयले अवरुद्ध सडक, विद्युत्, टेलिफोनलगायत अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको तथा खोज र उद्धारकार्यलाई आवश्यकतानुसार सुरक्षा निकायबाट निरन्तरता दिइएको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न २ अर्ब ५० करोड लाग्ने जानकारी दिएको छ । क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने मन्त्रालयले जनाएको छ ।

हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको संख्या १४ र स्थान ४२ रहेका छन् । अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायत अबरुद्ध छन् ।

क्षति भएका पुलको संख्या ५ रहेका छन् । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुलमा क्षति पुगेको हो । लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको छ ।

पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ–खण्डको विभिन्न स्थानमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width