भूतपूर्व खेलाडी मञ्चमा दिलबहादुर

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८१
vu pu kheladi

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च अध्यक्षमा दिलबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले आगामी ३ वर्षका लागि २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।

प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिवमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सहकोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए । सदस्यमा दिनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षत्री, शान्ति थापा वैद्य, अनिल सिं, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बालाकुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ छन् ।

यसअघि साधारण उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने कुरा औंल्याए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्ने जनाउँदै परिषद्ले उनीहरुसँग रहेको विज्ञतालाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले गण्डकी प्रदेश खेलकुद पर्यटनका लागि सम्भावना भएको प्रदेश भएको बताए ।

पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, खेलकुद पत्रकार विनोद लामिछाने र खेलाडी बादल कार्की सम्मानित

कार्यक्रम रोटरी क्लब ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सामाजिक विकासको अभियानमा खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनले सो विषयलाई मुख्य रुपमा उठाएकोले पनि रोटरीले सहकार्य गर्दै अघि बढेको जनाए ।

ब्रिटिस कलेज पोखराका शाखा प्रमुख बिमल कोइरालाले शिक्षा र खेलकुद एकअर्काको पर्याय भएकाले आफ्नो कलेजले पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग सहकार्यमा अघि बढेको उल्लेख गरे ।

सो अवसरमा मञ्चले पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, खेलकुद पत्रकार विनोद लामिछाने र युवा एथ्लेटिक्स खेलाडी बादल कार्कीलाई सम्मान गरेको छ । पूर्व अध्यक्ष गुरुङले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन तथा पोखरा रंगशाला निर्माणमा समेत भूमिका खेलेका थिए । खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष लामिछानेले पोखराको खेलकुद पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिएका छन् । एथ्लेटिक्स खेलाडी कार्की युवा अवस्थाबाटै पोखरा म्याराथनमा सहभागिता जनाउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । मञ्चका ८० वर्ष उमेर पुगेका आजीवन सदस्य पनि सम्मानित भए ।

नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष समेत रहेका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा चुनौतीसँगै अवसर रहेकोले युवालाई उत्साहित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित भयो । मञ्चको नेतृत्वमा सम्पन्न भएको पोखरा रंगशालास्थित पर्खाल हाल जीर्ण हुँदै गएकाले संरक्षणका लागि विशेष कार्यक्रम अघि सार्ने जनाएको छ । मासिक दौड कार्यक्रम तथा संस्थाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने समेत जनाइएको छ ।

मञ्च कोषाध्यक्ष पौडेलले आगामी ३ फागुनमा हुने १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि करिब ८३ लाख ६७ हजार खर्च हुने जनाए । म्याराथनमा पुरस्कार राशिमा वृद्धि गरिएको र खेलाडी दर्ता अभियान समेत सुरु गरिएको मञ्चले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width