नदीपुरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८१
volley 4

पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा नदीपुर छन्त्याल समाजघरमा जारी आठौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बिहीबार ७ खेल सकिए । केन्द्रको आठौं वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ ५ खेल र महिलातर्फ २ खेल भएका हुन्।

पुरुषतर्फ भएको पहिलो खेलमा आँधीखोला दिल्लीले गलकोट भलिबल टिमलाई २५–२३ र २५–२० को सेटले पराजित गर्न सफल भयो । दोस्रो खेलमा टिम पर्वतले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५– २१ र २५– १७ को सेटले पराजित गर्दा तेस्रो खेलमा गलकोट भलिबल टिमले अन्नपूर्ण गाउँपालिकालाई २५–२३ र २७– २५ ले पराजित गर्‍यो ।

चौथो खेलमा गलकोट स्पोर्टस् क्लब बागलुङले नेपाल युथ स्पोर्टस् क्लब जापानलाई २५–२१ र २५–२१ ले पराजित गर्दा अन्तिम खेलमा एपीएफ पोखराले आँधीखोला दिल्लीलाई २५–१८ र २५– १५ को सोझो सेटले पराजित गर्न सफल भयो ।

महिलातर्फ नदीपुर एफसीले अर्चलबोट भलिबल टिमलाई २–० को सेटमा पराजित गर्दा कनेक्टिङ पोखराले वाकओभर पायो ।

नदीपुर एफसीले अर्चलबोटलाई पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० ले पराजित गरेको हो । टिम पोखरा खेलमा उपस्थित नभएपछि कनेक्टिङ पोखराले वाकओभर पाएको थियो । शुक्रबार समूह चरणका अन्तिम खेल हुनेछन् । फाइनल आइतबार हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्रतियोगिता उद्घाटन गर्दै हाल पोखरा खेल पर्यटनमा मात्र नभई, सबै हिसाबले अगाडि बढेको जानकारी पाउँदा प्रशंसनीय रहेको बताए ।

उनले खेलकुदले व्यक्तिको शारीरिक मानसिक, स्वास्थ्य, क्षेत्रमा मात्र विकास गर्ने नभई खेलबाट देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा पु¥याउन भूमिका खेल्ने बताए । उनले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउने काम गर्न र आर्थिकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उनले खेलको माध्यमबाट अपराध न्यूनीकरणमा समेत सहयोगी हुने जनाए । उनले भने, ‘लागुऔषध तथा अपराध क्षेत्रमा युवायुवती धेरै मात्रामा फसेका छन्, खेलकुदले अपराध न्यूनीकरणमा गर्न ठूलो टेवा पुग्छ । पोखरा शहर अपराध र लागुऔषधमा दोस्रो स्थानमा रहेको छ । युवा जोगाउनुपर्ने अवस्था आएको छ । खेलकुदले अनुशासन र स्वस्थ्य राख्न भूमिका खेल्छ ।’

प्रहरी उपरीक्षक थापाले आफ्नो अनुभव स्मरण गर्दै ‘मलाई स्कुल, कलेजमा भलिबल मनपर्ने खेल हो । म पनि खेल्थें । आज प्रत्यक्ष भलिबल प्रतियोगिता हेर्ने अवसर मिल्यो । उत्कृष्ट प्रदर्शन गरेको देख्दा खेल्न मन लागेको महसुुस भयो ।’

पोखरा वडा ४ का जनप्रतिनिधि प्रकाश कोइराला, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष एवम् जिल्ला भलिबल संघ कास्कीका पूर्व अध्यक्ष भीम पराजुली, छन्त्याल संघका केन्द्रीय सल्लाहकार एवम् कास्की जिल्ला जुडो संघका अध्यक्ष प्रथम छन्त्याल, नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सु.धनबहादुर छन्त्याल, सचिव दलमान छन्त्याल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल) को अध्यक्षतामा भएको दोस्रो दिनको कार्यक्रमको संचालन अशोक थापा गरेका थिए । स्वागत केन्द्र सञ्चालक मनोज खड्काले गरेका थिए ।

प्रतियोगिताको बुधबार गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले उद्घाटन गरेका हुन् । उनले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीको सिकाइ अभिवृद्धि गर्नुका साथै आपसी सद्भावलाई वृद्धि गर्ने जनाएका थिए ।

प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले आफू पनि पूर्व राष्ट्रिय खेलाडी भएको हुँदा खेलकुदमा भएका समस्या, चुनौती र समाधानका विषयप्रति नजिकबाट नियालेको बताए । श्रेष्ठले खेलकुद क्षेत्र र खेलाडीप्रति राज्यले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्न सकेमा भविष्य खोज्न खेलाडीहरु विदेशिनु नपर्ने अवस्था आउने उल्लेख गरे।

अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापा मगरले प्रतियोगिता र नियमबारे जानकारी गराउँदै सपथ लिएका थिए भने राष्ट्रिय खेलाडी सञ्जुविक्रम शाहले खेलाडीतर्फबाट सपथ लिए ।

प्रतियोगिताको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width