सबै प्रदेशले जहाज किनौं, पर्यटक बढाऔं

श्रीभद्र पौडेल
असाेज १०, २०८१
tourism ministry 3

पोखरा । पोखराको प्रकृति तथा सँस्कृति विश्वबजारसम्म चिनाउन सके पर्यटनको राजधानीको सार्थकता बढ्नेमा जोड दिइएको छ ।

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय आयोजनामा बुधबार पोखरामा संघ सरकारका पर्यटन मन्त्रीसहित देशका सातै प्रदेशका पर्यटन मन्त्री डाकेर ‘पोखरा पर्यटकीय राजधानी नीति संवाद’ कार्यक्रम भएको हो । बागमती र कोशीबाहेकका पर्यटनमन्त्री र पर्यटनसंवद्ध सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको उक्त संवादमा वक्ताले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका लागि पोखरा आफैँमा प्रचूर सम्भावनास्थल रहेको जनाउँदै यहाँको प्रकृति र संस्कृतिको प्रचार गर्न पर्यटन क्षेत्रलाई चलायमान गराउनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले नेपालको पर्यटन विकासका लागि नेपाली आकाश सुरक्षित छ भनी प्रमाणित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल वायु सेवा निगमलाई थप सुदृढ गराउनुपर्ने धारणा राखे । सरकार प्रदेशले पनि जहाज किनोस् भन्ने पक्षमा छ, त्यसका लागि उपयुक्त मोडालिटीबारे छलफल भइरहेको मन्त्री पाण्डेले सुनाए ।

‘प्रदेशले पनि जहाज किनौैं, आ–आफ्ना प्रदेशका नाम लेखौं । त्यसमार्फत नेपालको पर्यटनले फड्को मार्छ,’ मन्त्री पाण्डेले भने । उनले प्रदेशस्तरमा पर्यटन बोर्ड कार्यालय तथा कम्पनी रजिष्ट्रार कार्यालय स्थापनाको पहलसमेत भइरहेको सुनाए । उनले पोखरालाई पर्यटनको राजधानी भनिरहँदा त्यस वरपरको क्षेत्रसमेत समेट्नुपर्ने धारणा राख्दै पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सरकारले विभिन्न सहुलियत दिएको स्पष्ट पारे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनको राजधानी घोषणामार्फत पोखरालाई ब्राण्डिङ गर्न खोजिएको स्पष्ट पार्दै प्रदेश सरकारले समग्र गण्डकीलाई नै पर्यटकीय क्षेत्र बनाउन पहल गरिरहेको उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि केही न केही प्रयास गर्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले गण्डकीबाट अन्य ६ वटै प्रदेशमा हवाई सञ्जाल जोड्ने तयारी भइरहेको सुनाए । उनले पोखरामा पर्यटक कति आएभन्दा पनि कति खर्च गरेर गए भन्ने कुरा महत्वपूर्ण हुने दाबी गर्दै कार्यक्रमका सहभागि सबैलाई आ–आफ्नो परिवारसहित पोखरा घुम्न सुझाव दिए ।

सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री लक्ष्मणकिशोर चौधरीले सानोमा आफूले रेडियोमार्फत ‘फेवातालको आँगनमा लैलै, माछापुच्छ्रे छाया’ गीत सुनी पोखरालाई चिनेको स्मरण गर्दै पोखरा चिनाउन गीतसंगीत तथा प्रचार सामग्रीको सहायता लिन सुझाए ।

कर्णालीका पर्यटन मन्त्री सुरेश अधिकारीले पोखरा प्रकृतिको अनुपम उपहार रहेको जनाउँदै कर्णाली भ्रमणको निम्तो दिए ।

गण्डकीको उद्योग तथा पर्यटन मन्त्रालय आयोजनामा प्रदेशका पर्यटन मन्त्रीहरुको उपस्थितिमा ‘पोखरा पर्यटकीय राजधानी नीति संवाद’

लुम्बिनीका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जतिबेला पनि पोखरा सुरक्षित हुनुपर्ने जनाउँदै पर्यटकीय राजधानीको मर्मअनुसार विकास निर्माण हुनुपर्ने धारणा राखे । नेपालमा सडक सुधारलाई व्यवस्था गर्दा बर्सेनि पर्यटक घट्दै गएको उनको दुखेसो छ ।

कोशीका पर्यटन मन्त्री सदानन्द मण्डलले भौगोलिक रुपमा मात्रै नभई पर्यटकलाई धार्मिक तथा सांस्कृतिक तवरले समेत आकर्षण गर्नुपर्ने जनाउँदै २०८२ लाई आफ्नो प्रदेशले भ्रमण वर्षका रुपमा अगाडि बढाउन खोजेको जानकारी दिए ।

कार्यक्रमबीच गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ‘पोखरा पर्यटनको राजधानी’ विषयक प्रस्तुति राख्दै पूर्वाधारको अभावबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको गुनासो आइरहेकोतर्फ सचेत गराउँदै पोखरामा सुविधासम्पन्न होटलका संख्या बढाउनुपर्नेमा जोड दिए । उनले एक रातमा करिब ४० हजार पर्यटक राख्नसक्ने क्षमता पोखरामा रहेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका रवीन्द्रराज पौडेलले ‘पोखराको पर्यटन विकास ः एक परिकल्पना’ विषयक कार्यपत्रमार्फत गण्डकीमा पर्यटन बोर्ड गठनमा जोड दिए । उनले फेवातालको मापदण्ड कार्यान्वयनमा संघ सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का पूर्व कार्यकारी सदस्य बासुदेव त्रिपाठीले वातावरण संरक्षण ऐन तथा पर्यटन ऐनमा केही कुरा बाझिएको स्पष्ट पार्दै त्यसलाई सहजीकरण गर्न संघ सरकारको ध्यानाकर्षण गराए ।

उनले गण्डकीका सबै जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै पर्यटनमैत्री संस्कार सिक्नुपर्नेमा जोड दिए । उनले ‘पर्यटनको राजधानी र हाम्रो दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

त्यस अवसरमा पोखराको पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्सहित भिटोफ गण्डकी, होटल संघ, नाट्टा, टान, रेवान, होमस्टे महासंघ, गुरुङ पर्यटन संघ, नेपाल हवाई खेलकुद संस्था (ना), जलयात्रा व्यवसायी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, टेवान, ओटेफ प्रतिनिधि लगायतले विभिन्न सुझाव दिए ।

उनीहरुले नेपाल भ्रमण गर्दा भारतीय पर्यटकले २५ हजारभन्दा बढी रकम ल्याउन पाउनुपर्ने, पर्यटनलाई पनि कृषिसरह सेवासुविधा दिनुपर्ने, सोलो प्याराग्लाइडिङको प्रवद्र्धन गर्नुपर्ने, पोखराका चोक–चोकमा सिसी क्यामेरा राख्नुपर्ने, स्पष्ट पर्यटन नीति ल्याउनुपर्ने, पोखरालाई २४ औं घण्टा खुला राख्नुपर्ने, पर्यटन बोर्ड पोखरा गठन गर्नुपर्ने, पोखरामा सुरक्षित अन्तर्राष्ट्रिय उडानका लागि रिठेपानी डाँडा थप कटान गर्नुपर्ने, पोखरा छिर्ने सडकको दूरावस्था तत्काल समाधान गर्नुपर्ने लगायत सुझाव दिए ।

गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग तथा पर्यटन सचिव कुमानसिंह गुरुङले स्वागत र उपसचिव हिमा पोख्रेलले संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts