महिलाको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
असाेज ९, २०८१
sibir Ward 15

पोखरा । पोखरा वडा कार्यालय १५ तथा सहरी स्वास्थ्य केन्द्र–१५ ले आयोजना गरेको स्त्री रोग परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय ४ जना लाभान्वित भए ।

राइट फर चिल्ड्रेन सहयोगमा भएको शिविरमा वडाका २१ देखि ७३ वर्ष उमेरसम्मले जाँच गराई लाभ लिएको वडाध्यक्ष तोरणबहादुर बानियाँले बताए । उनले नागरिक स्वस्थ भए मात्र विकासको उपयोग हुने भन्दै वडाले पूर्वाधारसँगै मानवीय विकासका लागि सुरुवाती दिनदेखि काम गरिरहेको बताए । उनले यसअघि शिविरमा आएकामध्ये केहीमा गम्भीर रोगको पहिचान भएको भन्दै समयमै रोगको पहिचान र निदानका लागि ढुक्क भएर शिविरमा आई लाभान्वित हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले सम्पूर्ण महिलालाई शिविरमा आई आफ्नो स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन् । उनले स्वास्थ्य परीक्षणमा समस्या देखिएकाहरूको थप उपचारका लागि आवश्यक सहजीकरण गरिने पनि बताइन् ।

राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरुङले समयमै रोगको पहिचान गरी उपचार गराउन र यसको जोखिमबाट बच्न चेतना अभिवृद्धि गर्न शिविर उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएकी ठाँटी पाटनकी ४२ वर्षीया चित्रा परियारले परीक्षणपश्चात् आफूलाई पाठेघरमा इन्फेक्सन भएको पाइएको बताइन् । उनले भनिन्, ‘भित्र चेक गर्दा डाक्टरले इन्फेक्सन देखिएको छ भने, औषधी पनि दिनुभएको छ ।’ उनले बाहिर निजी अस्पतालमा पैसा खर्चेर परीक्षण गराउन नसक्ने आफूहरू जस्तैका लागि शिविर महत्वपूर्ण हुने बताइन् ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको पाइए पनि ३ जनामा भने जटिल रोगको लक्षण देखिएको सहरी स्वास्थ्य केन्द्र १५ कि प्रमुख मीरा बस्नेतले जानकारी दिइन् । उनले त्यस्ता बिरामीहरूलाई अस्पताल रिफर गरिएको र सामान्य अवस्थाकालाई निःशुल्क औषधि वितरण गरिएको बताइन् । शिविरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, महिनावारी सम्बन्धी गडबडी, आङ खस्ने, सेतोपानी बग्ने, ढाड दुख्ने, चिलाउने लगायतका रोगको परीक्षण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…
  • प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही

    रासस असाेज २१, २०८१
    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

hero news full width