घान्द्रुक जाने अवरोध हट्यो

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८१
ghandruk news road final mopid gandaki

पोखरा । पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे २ महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सुचारू भएको हो।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो । कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र २ लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए ।

सडकको बीच भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा १ महिनाभन्दा बढी समय लगाएर सडक मर्मत भएको अन्नपूर्ण–१० का वडाध्यक्ष गौतम गुरूङले बताए । अब घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जान सक्ने छन् ।

एमाले सांसद प्रकाशबहादुर केसी गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेपछि तत्काल काम गरिनुपर्ने र भइराखेका सडकबारे चासो राखेका थिए । उनले घान्द्रुक जाने बाटो मर्मतको काममा ढिलाइ नगर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए । मन्त्री केसीले घान्द्रुक जाने सडक लामो समयपछि खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले पूर्वाधार विकास कार्यालय कास्कीको टोलीसँगको भेटमा मंगलबार कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिलाई बाटो खुलाएकोमा धन्यवाद दिए । मन्त्री केसीले आफूले समस्यामा रहेका अन्य सडकखण्डको पनि पहिचान गरिरहेको र पहिचानपछि समस्या समाधान गर्ने उपाय खोज्ने बताए ।

घान्द्रुकका युवा व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकोमा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किमी लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख रूपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width