पिएनको जग्गा अधिग्रहणको विरोध

आदर्श समाज सम्वाददाता
असाेज ७, २०८१
pn campus land

पोखरा । क्याम्पसले भोगचलन एवं संरक्षण गर्दै आएको जग्गा सरकारले अधिग्रहण गरेकोमा नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसले विरोध गरेको छ । संगठनले सोमबार विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयको फिल्डबुकमा क्याम्पसले दाबी गरेको भन्ने उल्लेख भएको करिब २२३ रोपनी जग्गा सरकारीकरण भएकोमा विरोध जनाएको हो।

संगठन अध्यक्ष नवीन प्यासी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पस प्रशासन र सम्पूर्ण सरोकारवालासँग छलफल नगरी तथा जानकारी नदिई सरकारले एकलौटी ढंगबाट जग्गा अधिग्रहण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘विश्वविद्यालय उन्मुख, डिग्री अवार्डेड क्याम्पस, नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गराइरहेको क्याम्पसलाई थप पूर्वाधार, विकासको योजना र क्षेत्रफल वृद्धिका कार्यक्रम ल्याउनुपर्ने कुरा नजरअन्दाज गर्दै नाटकीय रुपमा गरिएको यस शैक्षिक संस्थाप्रतिको ठाडो हस्ताक्षपलाई हाम्रो संगठन घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा छ ।

यस्तो परिस्थितिमा क्याम्पसभित्र रहेका जिम्मेवार सरोकारवाला इकाइ तथा नेतृत्वदायी व्यक्ति आपसी आरोप–प्रत्यारोपमा लाग्ने र एकतामा खलल पुर्‍याउने काममा लागिरहनु तथा यस्तै खालका अभिव्यक्ति प्रसारित गर्न तल्लीन रहनु दुखद रहेकोसमेत बताइएको छ ।

संगठनले हत्याइएको जमिनजस्तो साझा समस्या समाधान गर्ने गरी क्याम्पसको स्वामित्वमा ल्याउन सम्पूर्ण सरोकारवाला एकताबद्ध भई योजनागत ढंगले अगाडि बढ्न पनि अपिल गरेको छ ।

यसै सन्दर्भमा क्याम्पस प्रशासन, क्याम्पसस्थित त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघसमेतको धारण स्पष्ट आउनुपर्ने संगठनको माग छ ।

क्याम्पस प्रशासनलाई आफ्नो धारणासहित क्याम्पसका प्राध्यापकहरु कर्मचारीहरु एवं विद्यार्थी प्रतिनिधिसहितको आमभेला तत्काल आयोजना गरी उक्त भेलाको म्यान्डेट लिई अब चाल्नुपर्ने कदमको योजना तय गरी यथाशीघ्र कार्यान्वयनमा लैजान पनि संगठनले माग गरेको छ।

जग्गा फिर्ता गर्न नागरिक समाज, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अन्य सम्पूर्ण सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट खबरदारी एवं सहयोग गर्न पनि संगठनले आह्वान गरेको छ ।
विज्ञप्तिमा क्याम्पसको स्वामित्वमा जग्गा ल्याउन सबै प्रक्रियागत चुनौती सामना र प्रतिकार गर्न संगठन प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width