पोखरा ।
‘सुला सुमै पे सेंलें ।
सुला सुमै ल्हु सेंलें ।।
छ्याँडु सेवै पे सेंलें ।
छ्याँडु सेवै ल्हु सेंलें…।’
यो खासमा गुरुङ समुदायमा कुनै व्यक्तिको मृत्यु संस्कार (अर्घौं) दोस्रो दिन नाचिने छ्याँडुको सुरुआति भाखा हो । यसको अर्थ हुन्छ–मृतात्माको आह्वान गर्दै शास्त्र सुनाउँछु, अस्त्र सुनाउँछु । छ्याँडु नाचको शास्त्र र अस्त्र सुनाउँछु ।
छ्याँडु गुरु प्रेमबहादुर गुरुङ टुढु (ढोलक) र झ्याली÷झुर्माको तालसँगै गीत र नाच सुरु हुने बताउँछन् । गुरुङ समुदायमा मृत्यु संस्कारसँग जोडिएको छ्याँडु नृत्य निकै महत्वपूर्ण रहेको उनले बताए । छ्याँडु नाच्ने–गाउने गरेमा दिवंगत आत्मा स्वर्गमा पुग्छ भन्ने मान्यता रहेको उनले सुनाए ।
३६ ताल रहने छ्याँडु नृत्य विशेषगरी पितृकार्य पय (अर्घौं) दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने प्रचलन छ । ‘पितृ कार्यको पहिलो दिन पय चुबा (अर्घौं सुरुवाती) गरिन्छ । दोस्रो दिन, घरभन्दा केही पर क्याँब्रीहरु फलफूल प्रसाद लिएर ज्वाइँले राखेको अस्तु लिन जान्छ,’ छ्याँडु गुरु खर्कमान गुरुङ भन्छन्, ‘ढ्यांग्रो बजाउँदै गएका क्याँब्रीहरुले अस्तु लिएपछि छ्याँडु नृत्यसँगै सुरु हुन्छ ।’ पच्यु, क्याँब्री र बोन लमहरुले अर्घौं कार्य गरिरहँदा दिवंगत व्यक्तिका छिमेकीहरु छ्याँडु नाच्न सुरु गर्ने गुरु खर्कमानले बताए ।
गीतैगीतमा दिवंगत भएकाहरुको आत्मा डाक्ने काम गरिने उनले बताए । दिवंगत आत्मा खुसी तुल्याउन रातभर जाग्राम बसेर छ्याँडु नाचिने प्रचलन छ । यो नृत्य डिकुटीलाई बीचमा राखेर गोलबद्ध भएर नाच्ने गरिन्छ । जसमा यत्ति नै संख्यामा नाच्नुपर्ने भन्ने हँुदैन । समूहमा जति जना पनि नाच्न सक्छन् । ‘ज्वाइँसँगबाट ल्याएको अस्तु घरमा सिंगारेको बनाएको डिकुटीमा राखेपछि त्यही अस्तु आत्मा ठान्ने चलन छ,’ खर्कमानले भने, ‘त्यसपछि गीतैगीतमा तपार्इंलाई पच्यु, क्याँब्री र बोन लमहरुले यति राम्रो डिकुटी बनाएर वेद पढेर यति राम्रो गरेको छ । तपाईंको आत्मा आएर यो डिकुटीमा आएर बस्नुस् भनेर गीतबाट आह्वान गर्ने हो ।’
विभिन्न भाखामा अन्तिममा गीत गाएपछि नाच सकिँदासम्म आत्मा स्वर्गमा पुगेको विश्वास रहने गुरु खर्कमान बताउँछन् । यो नाचमा ३६ ताल भए पनि समय हेरेर त्योभन्दा कम तालमा पनि छ्याँडु सकिने उनको भनाइ छ ।
अचेल छ्याँडु नृत्य लोप हँुदै गएकोमा भने छ्याँडु गुरु कृष्णबहादुर गुरुङ चिन्ता व्यक्त गर्छन् । उनका अनुसार पोखराकै धेरै समाजहरुमा यो नाच देखाउन छाडिएको छ । युवावर्गमाझ पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् । यो नृत्य संरक्षणका लागि तमु सांस्कृतिक संरक्षण समिति गठन गरेर अघि बढेको उनले जानकारी दिए ।
गुरुङ समुदायमा यो नृत्य जोगाउन संरक्षण समिति गठन गरी प्रशिक्षण
पोखरा–२०, मोहोरियाका स्थानीय मिलेर तमु सांस्कृतिक संरक्षण समिति नै गठन गरी छ्याँडु गुरु प्रेमबहादुर गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । समिति गठनपछि सुरुमा अध्ययनका लागि गुरुङको थातथलो पुगेको गुरु प्रेमबहादुरले बताए । ‘२०७० सालतिर समिति गठन गरेपछि गुरुङहरुको पुरानो थलो विशेषगरी कास्की, लमजुङ गोरखा अवलोकनका लागि पुग्यौं,’ उनले भने, ‘हामी गएका ठाउँहरुमा नाच्ने गरेको त भेटियो तर निकै कम । उनीहरुले फरक–फरक नामले चिन्ने रहेछ ।’ उनका अनुसार कास्कीमा छ्याँडु नामले परिचित यो नाचलाई लमजुङ÷तनहुँमा सेर्गा र गोरखामा तुर्लुङ भनिन्छ ।
स्याङ्जा र पर्वतमा भने छ्याँडु लोप भइसकेको गुरु प्रेमबहादुरले बताए । कास्कीमा रहेका ९० भन्दा बढी तमु समाजमा आधाभन्दा बढीले ननाच्ने उनको भनाइ थियो । त्यसैले यो नाच संरक्षणका लागि समूह गठन गरी अघि बढेको उनले सुनाए । अहिले पोखराका २५ भन्दा बढी समाजमा सिकाइसकेको उनले जानकारी दिए । यसमा पितृ स्वर्ग तार्न पढिने शास्त्रको मन्त्र रहेको हुँदा यसको जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।
गुरुङ संस्कार संस्कृति संरक्षणका लागि तमु धिं नेपाल पनि तातिएको छ । पुस्ता हस्तान्तरण गरे मात्र संस्कृति जोगाउन सकिन्छ भनी केही दिन अघि तमु धिं नेपाल केन्द्रीय युवा समिति आयोजनामा छ्याँडु नृत्य प्रशिक्षण समेत भएको अध्यक्ष हुमबहादुर गुरुङले बताए । ‘युवापुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्नैपर्छ, हाम्रो मौलिक पहिचान संरक्षण गर्ने दायित्व हाम्रो हो,’ तमु धिं नेपाल अध्यक्ष गुरुङले भने, ‘यसको अभिभावकत्व राज्यले ग्रहण गर्नुपर्छ भन्ने हिसाबबाट यो एकमहिने प्रशिक्षणमा गण्डकी प्रदेशले साथ दिएको छ ।’
गण्डकी प्रज्ञा प्रतिष्ठान उपकुलपति गोरे गुरुङ गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गरिरहेको बताउँछन् । छ्याँडु नृत्य संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न संस्थाको सहकार्यमा एकमहिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा गरिरहेको उनले सुनाए ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१