पर्यटकसँग शुल्क नलिनू : एमक्याप

पर्यटक शुल्क उठाउने चुमनुब्रीको निर्णय

आदर्श समाज सम्वाददाता
असाेज २, २०८१
Mcap

पोखरा । मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकसँग शुल्क उठाउने चुमनुब्री गाउँपालिकाको निर्णय फेरि विवादमा तानिएको छ । सो निर्णय कार्यान्वयन नगर्न मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले अनुरोध गरेको हो ।

सोमबार एमक्यापतर्फबाट आयोजना प्रमुख सन्तोष शेरचनले चुमनुब्री गाउँपालिकालाई ‘पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन नगराउनु हुन’ भन्दै पत्र पठाएका हुन् । पत्रमा भनिएको छ, ‘… नियमविपरीत संरक्षण क्षेत्रभित्र सबै निकायबाट प्रवेश शुल्क उठाउँदा दोहोरो, तेहरो शुल्क भई पर्यटकमा नकारात्मक सन्देश फैलिई उजागर भइरहेको यस मनासलु संरक्षण क्षेत्रको पर्यटक ह्रास हुन सक्ने सम्भावना भएकाले पदयात्रा प्रवेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन नगराउनुहुन अनुरोध छ ।’

गत २० भदौमा गाउँपालिकाका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाको बैठकले गाउँपालिकाले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटक र स्वदेशी पर्यटकका लागि शुल्क तोक्ने निर्णय गरेको थियो । जसमा विदेशी पर्यटक प्रतिव्यक्ति १ हजार र नेपाली पर्यटक प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लिने निर्णय गरिएको थियो ।

आयोजनाले चुमनुब्री गाउँपालिकाको सबै क्षेत्र मनासलु संरक्षण क्षेत्रमा पर्ने र सो संरक्षण क्षेत्रमा पदयात्रामा आउने सबै विदेशी, सार्क तथा नेपाली पर्यटकका लागि कोषबाट व्यवस्थापन गरिएको प्रवेश शुल्क संकलन केन्द्रबाट विदेशीलाई ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र नेपालीलाई १ सय प्रवेश शुल्क लिएर पदयात्रा गर्न सक्ने र तोकिएको प्रवेश शुल्क नदिई आउने पर्यटकका लागि दोब्बर दस्तुर लिई प्रवेशाज्ञा दिइने प्रवाधान रहेको भनेको छ । साथै, सो क्षेत्रमा पदयात्रामा आउने विदेशी पर्यटकले नेपाल सरकारले तोकेको शुल्क तिरी अध्यागमन विभागबाट जारी गरिने प्रवेशपत्र अनिवार्य लिई पदयात्रा गर्नुपर्ने प्रावधान रहेको व्यहोरा स्मरण गराएको छ । तर, गाउँपालिकाको शुल्क लिने छुट्टै निर्णयमा स्थानीय शासन संचालन ऐन र स्थानीय आर्थिक ऐन २०८१ बमोजिम भन्ने उल्लेख गरेको पाइएको र स्थानीय शासन सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ उपदफा ६४ को २ अनुसार उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि पर्वतारोहण शुल्क, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रको प्रवेश शुल्क निर्धारण र संकलन नेपाल सरकारले व्यवस्था गरे बमोजिम हुनेछ भनेर लेखेकाले सोहीअनुसार गर्न भनेको छ ।

गाउँपालिकाले पर्यटकसँग छुट्टै शुल्क लिने निर्णयको टान गण्डकीले पनि यसअघि आपत्ति जनाउँदै गण्डकीका पर्यटक मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

गत २० भदौमा विदेशी पर्यटक प्रतिव्यक्ति १ हजार र नेपालीसँग २ सय रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो

यता, गाउँपालिका अध्यक्ष निमा लामाले एमक्यापको उक्त अनुरोध नस्वीकार्ने स्पष्ट पारेका छन् । आदर्श समाजसँग उनले भने, ‘अधिकार सम्पन्न स्थानीय सरकारले शुल्क उठाउन नपाउने भन्ने कुन चाहिँ तर्क हो ? हामीहरुले अरु ठाउँको पनि लामो समय अध्ययन गरेर निर्णय गरेका हौं । निर्णयबाट पछि हट्दैनौं ।’ उनले आफूहरुको ‘रोडम्याप’ क्लियर रहेको तर्क गरे । उनले नेपालमा हिमाल समिट गर्नेमा एभरेष्टपछि मनास्लु भएको बताउँदै पोहोर साल झण्डै १० हजार जना विदेशी पर्यटक मनास्लु क्षेत्र प्रवेश गरेको पनि जानकारी दिए । उनले गाउँपालिकाअन्तर्गत दिगो पर्यटक विकास प्रवद्र्धन, सरसफाइ व्यवस्थापन, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षणबारे आफूहरु प्रतिबद्ध रहेकोले निर्णय बदर नगर्ने स्पष्ट पारे ।

एमक्यापको प्रवेशबिन्दु जगतमा काउन्टर राखेर आफ्नै कर्मचारी खटाएर शुल्क उठाउने निर्णय पालिकाको थियो । संरक्षण क्षेत्रभित्र रहेका पालिकाहरुले आन्तरिक आम्दानी गर्न सकेका छैनन् । सबै स्रोत संरक्षण क्षेत्रले उठाउने र उसैले खर्च गर्ने भएपछि पालिकाहरु रुष्ट छन् । पालिकाहरूले आन्तरिक स्रोत उठाउन नपाएको भन्दै संरक्षण क्षेत्र खारेजीको माग उठाउँदै आएका छन् । कि रोयल्टी पालिकामा हस्तान्तरण गर्नुपर्ने, नभए संरक्षण क्षेत्रको जिम्मेवारी पालिकामा पठाउनुपर्ने उनीहरूको माग छ । प्रदेश, पालिका र स्थानीयको समेत विरोध हुँदाहुँदै गत वर्ष ५ वर्षका लागि दुवै संरक्षण क्षेत्रको म्याद थपिएको छ । गण्डकीका १६ वटा गाउँपालिका संरक्षण क्षेत्रभित्र पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र ५ जिल्लाका १५ पालिका र मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र गोरखाको चुमनुब्री गाउँपालिका छ ।

गोरखाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू मिलाएर निर्माण भएको हो । गोरखाको मुख्य नदी बूढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम उक्त गाउँपालिकाको केन्द्र हो । कुल क्षेत्रफल १६४८.५ वर्ग किमी रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल (उचाइ ८१६३ मिटर) यही गाउँपालिकामा पर्छ । हिमचुली (७८९३ मिटर) र सृङ्गी (७१८७ मिटर) जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला पनि यी गाउँपालिकामा पर्दछन् । यसरी गाउँपालिकाको समग्र भाग मनास्लु संरक्षण क्षेत्रमा पर्दछ ।

गत वर्ष कास्कीको माछापुच्छ«े गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्रका ट्रेकिङ रुटमा आउने पर्यटकसँग छुट्टै शुल्क लिने निर्णय गरेको थियो । विदेशी पर्यटकसँग ५ सय र नेपालीसँग १ सय लिने निर्णयमा चर्को विरोधपछि पालिकाले शुल्क घटाएर विदेशीलाई २ सय र नेपालीलाई १ सय लिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै