पोखरा । गण्डकी पेट्रोलियम कम्पनी प्रालिले स्थापनाको ऐतिहासिक स्वर्ण महोत्सव मनाएको छ ।
पोखरामा शनिबार आयोजित समारोहमा विभिन्न व्यक्तिलाई सम्मान, स्मारिका विमोचनसहित शुभकामना आदानप्रदान गरी स्वर्ण महोत्सव मनाइएको हो ।
कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालय, रामबजारका प्रमुख ले.कर्नल पि.एस. बघेलले भूपू सैनिकहरुको सक्रियतामा आजभन्दा ५० वर्षअघि स्थापित गण्डकी पेट्रोलियमको स्वर्ण महोत्सव अवसरमा शुभकामना दिँदै अझ प्रगतिको कामना गरे । उनले कोरोनाको विषम परिस्थितिमा पनि संस्थाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि दुवैको तर्फबाट यस्तैखालको सहकार्य रहीरहने अपेक्षा गरे ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्ष राजन गोंगजूले एसोसिएसनमा हाल ८० पेट्रोलियम कम्पनी आबद्ध रहेको जनाए । उनले नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरेको ५५ वर्षमात्र भएको जानकारी दिँदै गण्डकी पेट्रोलियमले स्थापनाको ५० वर्ष मनाइरहँदा खुसी लागेको प्रतिक्रिया दिए ।
गोरखा स्मारक ट्रस्टका महासचिव प्राडा चन्द्रबहादुर गुरुङले कम्पनीको स्वर्ण महोत्सव अवसरमा शुभकामना दिए । उनले भूपूहरुको इतिहासबारे जानकारी दिँदै पोखराको विकासमा भूपूहरुको ठूलो योगदान रहेको पनि बताए ।
भूगोलविद प्राडा कृष्ण केसीले पोखरा र यस आसपासका क्षेत्रमा मेजर वीरसिंह गुरुङको अतुलनीय योगदान रहेको चर्चा गरे । मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्राडा केसीले हालको अमरसिंह स्कुल होस् वा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उनकै पहलमा स्थापना भएको बताए ।
कम्पनीका संस्थापक सचिव शंकर गुरुङले संस्था स्थापनाको इतिहासबारे चर्चा गरे । पोखराको पहिलो पेट्रोलियम कम्पनी हिमालय भएकोमा दोस्रो गण्डकी रहेको बताए ।
कम्पनीका संस्थापक ५० शेयर सदस्यमध्येका एक ह.हंसबहादुर गुरुङले कम्पनी स्थापनाका संघर्ष, दुःख र कहानी पस्के । २५ वर्षदेखि कम्पनी सचिवहुँदै प्रबन्धकको जिम्मेवारी सम्हालेका ९० वर्षीय गुरुङले पोखरा पृथ्वीचोकमा पहिलोपल्ट पम्प गाड्न खाल्डो खन्दै गर्दा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले रोकेको स्मरण गरे ।
नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष समेत रहेका कम्पनीका शेयर सदस्य तेजबहादुर गुरुङले भूपू सैनिकको सक्रियतामा तत्कालीन समयमा कम्पनी स्थापना हुनु ज्यादै गर्वको विषय भएको बताए । उनले आफू सानो छँदा बुवाले कम्पनीका बारेमा सुनाएका कुराहरु स्मरण गरे ।
सो अवसरमा कम्पनीले प्रकाशन गरेको ‘स्वर्ण महोत्सव स्मारिका–२०८१’ विमोचन गरियो । ९० पृष्ठको स्मारिकामा कम्पनीको इतिहास, पोखरामा पेट्रोलियम कम्पनीको इतिहास, पोखराको विकासमा भूपू लाहुरेको योगदान, मेजर वीरसिंहको चर्चा, विभिन्न तथ्य तथ्यांक लगायत विषयवस्तु समेटिएको छ ।
स्मारिका प्रकाशनका लागि कम्पनीका कार्यसमिति सदस्य एवं शेयर सदस्य तेजबहादुर गुरुङको संयोजकत्वमा प्रकाशन मण्डल गठन गरिएको थियो । सो प्रकाशन मण्डलमा तीलबहादुर गुरुङ, नारायणप्रसाद गुरुङ, तेजमान गुरुङ, दानजङ्ग गुरुङ, सूर्यबहादुर गुरुङ र विजय नेपाल सदस्य थिए ।
सो अवसरमा संस्थाका पूर्व अध्यक्षहरुलाई योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको थियो । सम्मानित हुनेमा संस्थापक अध्यक्ष कप.प्रेमबहादुर गुरुङ, पूर्व अध्यक्ष कप. चेतबहादुर गुरुङ र कप.डमरबहादुर गुरुङ छन् । सो सम्मान उनीहरुका परिवारका सदस्यले ग्रहण गरे ।
यस्तै, संस्थापक शेयर सदस्यमध्ये भक्तिमाया गुरुङ (वीरनारी), मीमकुमारी गुरुङ, केशबहादुर गुरुङ र कम्पनी प्रबन्धक एवं संस्थापक शेयर सदस्य ह.हंसबहादुर गुरुङलाई सम्मान गरिएको थियो । कम्पनीका संस्थापक सचिव शंकर गुरुङलाई पनि सम्मान गरियो ।
५० जना शेयर सदस्य मिलेर २०३१ भदौ २७ गते तत्कालीन वाणिज्य विभागमा दर्ता भएको गण्डकी पेट्रोलियम कम्पनीमा हाल ४५ जना शेयर सदस्य छन् । संस्थापकमध्ये हाल ४ जनामात्र जीवित रहेको जानकारी शेयर सदस्य तेजमान गुरुङले दिए ।
कार्यक्रममा संस्थापक सबै शेयर सदस्य तथा तिनका परिवारलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे (बिबी पाण्डे), शेयर सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष सु.गणेशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शेयर सदस्य नारायणप्रसाद गुरुङले गरेका थिए ।
गण्डकी पेट्रोलियम कम्पनी हाल पोखरा १०, अमरसिंह चोकमा छ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१