गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
Gorkha Milan Main

पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति उपाध्यक्षमा सन्तबहादुर लामिछाने, महासचिव शीतल श्रेष्ठ, सचिव गीता खनाल, कोषाध्यक्ष शेरबहादुर राना र सहकोषाध्यक्ष धीरज श्रेष्ठ चयन भए । सदस्यमा ऋषि गिरी, सुवास अंगाई, ललिता श्रेष्ठ, हिरामाया रेग्मी, विपीन श्रेष्ठ, भोजबहादुर अधिकारी, सुजन भट्टराई, रोशनी थापा मगर, मिलन बाबु सुनार, कल्पना थापा, अमृता गिरी र विकल श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक तिलक तिवारीले जानकारी दिए ।

अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी २ वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सबै गोरखालीहरुलाई एकताबद्ध बनाउन प्रयत्न गर्ने बताए ।

त्यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाली कसैले पनि शिर झुकाउन नपर्ने गरी काम गर्ने बताए । ‘गोरखा जिल्लाबाट निर्वाचित सांसद र अहिलेको मुख्यमन्त्रीको जिम्मेवारी बहन गर्दै गर्दा कुनै पनि नराम्रो काम मैले गरेको छैन । यो अवधिमा तपाईंहरुले मेरो कामबाट शिर झुकाउनुपरेको छैन,’ उनले भने, ‘सकेसम्म राम्रो गरेर जान्छु । नभए पनि शिर झुकाउने काम गर्ने छैन ।’ उनले विगतका वर्षहरुमा भन्दा आफू मुख्यमन्त्री भएपछि गोरखामा बजेट र कार्यक्रम धेरै गएको दाबी गरे । ‘अघिल्लो ५ वर्षमा भन्दा मेरो कार्यकाल सुरु भएपछि यो डेढ वर्षमा बढी बजेट जिल्लामा गएको छ । अझै धेरै काम गर्न बाँकी छ,’ उनी भन्छन्, ‘तपाईंहरुको सल्लाह र सुझाव अनुसार हामी काम गर्छौं । जिल्लाको विकासमा तपाईंहरुले पनि चासो दिनुपर्‍यो ।’

गोरखा मिलन समाजमा अग्रिमको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पोखरामा रहेका गोरखालीलाई समाजले एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले समाज र गोरखाली प्रत्येक व्यक्ति आपसमा परिपूरक भएको बताए । ‘यो समाजको काम देशमै उल्लेख्य छ । अझै राम्रो कामको अपेक्षा गरेको छु,’ उनले भने, ‘समाजको विगतको विरासत जोगाउन नयाँ समितिले पनि जिम्मेवारी वहन गरोस् ।’ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले गोेरखाको समग्र विकास सहितको समृद्ध गण्डकी प्रदेशको परिकल्पना बोकेर काम गरिरहेको बताए । उनले समाजले गरेका धेरै कार्यहरुमा सहभागी भएको र यसबाट गोरखालीसँग आत्मीयता बढेको बताए ।

पूर्व मन्त्री हरिशरण आचार्यले गोरखाको विकासका लागी मुख्यमन्त्री, सभामुख र मन्त्री समेत गोरखाबाट प्रतिनिधित्व गर्ने भएकोले एकीकृत योजना लिएर चल्नुपर्ने सुझाव दिए । त्यसमा समाजले जोड दिनुपर्ने उनको तर्क छ । कार्यक्रममा पूर्व अध्यक्ष इन्जिनियर ईश्वरचन्द्र देवकोटा, स्मारिका प्रकाशन संयोजक सूर्य क्षत्री, संस्थापक सचिव गणेश श्रेष्ठलगायतले समाजको कामप्रति प्रशंसा गरेका थिए ।

समाजले रजत जयन्ती अवसरमा प्रकाशन गरेको स्मारिका पनि विमोचन गरियो । कार्यक्रममा समाजले विभिन्न शीर्षकमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि १० जना विद्यार्थीलाई जनही १० हजार दरले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष कोपिला श्रेष्ठले जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा सम्पादन गरेका कामबारे कार्यक्रममा प्रस्तुति राखेकी थिइन् । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सन्तबहादुर लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै