‘आनन्द संहिता’ माथि परिचर्चा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
ghanashyam khaka Second

पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ ।

¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा संस्थाका सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरे । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे ।

‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकरूपमा प्रस्तुत भएका छन्, यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्,’ पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझाव पेस छन् ।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपा चर्चा गरे ।

‘आनन्द संहिता’ सुखतर्फ होइन, आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए । ‘पाठकलाई बोधको तहमा लैजाने, आफैँभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्,’ उनले भने । पाठकमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्व समयसँगै झनै बढ्दै जाने पराजुलीले निष्कर्ष सुनाए ।

लेखक घनश्याम खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्नका लागि आफूले बुझेका उपायसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए । ‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैँमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे। आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए ।

‘आनन्द संहिता’ स्वयम्को चिन्तन गर्न आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ थियो । कान्तिपुर दैनिकमा आबद्ध खड्का क्रियाशील पत्रकार हुन् । उनको यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्तलगायतका कृतिहरू प्रकाशित छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे । पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको स्मरण गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू केवल लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे । अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए । मानवीय जीवनका सबै क्रियाकलापहरू मस्तिष्कको खेल भएको उनले बताए । आनन्दलाई आफूले अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए । तनावग्रस्त विश्वलाई मुक्त गराउनका लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए ।

कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थीलगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए । सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औँ शृङ्खलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको संस्थाका अध्यक्ष रुपिन्द्र प्रभावीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै