पोखरा । सराङकोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय कैलाशेश्वर शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १४/१५ वर्ष भयो ।
सुरुका १/२ वर्ष खुला स्थानका शिला भगवान् मानेर पुजेका उनले केही वर्ष अन्तरालमा गाउँलेले ढुंगाको गारो लगाएर मन्दिर निर्माण गरेपछि पनि पूजा गरे । तर, छानो गतिलो भएन । पानी पर्दा सबै चुहिने, कतिपय अवस्थामा भलबाढी नै पस्ने ।
सामान्य पूजाविधि जानेका उनलाई स्थायी संरचनाको मन्दिर निर्माण गर्न पाए हुन्थ्यो भन्ने महसुस भयो । जसअनुसार सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको टोलीसमक्ष कुरा राखे । जिसीले सबै कुरा मिलाएर यज्ञ गर्ने बताए । सबैसँग हात फैलायो भने कसो मन्दिर निर्माण गर्न नसकिएला भन्ने जिसीलाई पनि लाग्यो ।
त्यसपछि कुन माध्यमबाट पैसा जुटाउन सकिएला ? भन्ने सोच्न थाले । उनले सबै माझ बैठक बसाली यो कुरा राखे । फलस्वरुप गाउँलेले मन्दिरमा स्थायी संरचना विकासका लागि महायज्ञ लगाउने निधो गरे ।
योजनामुताविक २०७४ माघ २३ बाट सप्ताहव्यापी यज्ञ गरियो । यज्ञमा करिब ६ करोड रकम जुट्यो । जुन मन्दिर निर्माणका लागि आधारस्तम्भ बन्न पुग्यो । मन्दिर निर्माणमा करिब ६५ प्रतिशत रकम तिनै दानवीरको छ । त्यस्तै कतिपय अवस्थामा सहयोग उठाउँदै काम पनि गरिएको छ ।
पछिल्लो यज्ञ सम्पन्नसँगै २०७६ फागुनबाट कैलाशेश्वर शिव मन्दिर निर्माण सुरु भएकोमा हालै सम्पन्न भएको छ । सो क्षेत्रमा भूमे कालिका मन्दिर, प्रवेशद्वार तथा पञ्चमुखी मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
जनसहभागिता, विभिन्न तहका सरकार तथा व्यक्ति एवं सहयोगी संघसंस्थाबाट सराङकोट टपमा हालसम्म कैलाशेश्वर शिव मन्दिरका अलवा, भ्यु टावर, बहुउद्देश्यीय भवन, हवन कुण्ड, स्मार्ट शौचालय, लगायतका संरचना निर्माण भइसकेका छन् ।
त्यस्तैगरी, १०८ शिवलिङ तथा जलधारा, भैरव मन्दिर, भ्यू टावरसम्म जाने सिढीबाटो, सुरक्षाकर्मीका लागि आवास निर्माण, खानेपानी ट्यांकी, हेली प्याड, पार्किङदेखि मन्दिर परिसरसम्मको बाटो, गणेश मन्दिर, भ्यू टावर परिसरमा ढुंगा छपाई कार्य पनि सम्पन्न भएको छ ।
यीनै संरचनाले झकीझकाउ सराङकोट टप क्षेत्रको आउँदो महाशिवरात्रीको अवसरमा फागुन १४ मा समुद्घाटन गर्ने तयारीमा समिति जुटेको छ । जसका लागि छलफल थालिएको छ । फागुन १० देखि नै प्राणप्रतिष्ठा हुने तथा समुद्घाटनसँगै श्रीमद्भागवत् सप्ताह महायज्ञ गरिने र २१ फागुनसम्म यज्ञ जारी रहने बताइएको छ ।
संरचना निर्माण भएसँगै अब सराङकोट क्षेत्रको थप महत्व बढ्दै जाने अपेक्षा गरिएको छ ।
साथै, सराङकोट टप क्षेत्रमा घटस्थापनाको अवसरमा सराङ नृत्य प्रदर्शन गर्ने तयारी पनि भइरहेको छ । सराङ सराङकोटको मौलिक नृत्य मानिन्छ । जुन युद्ध कलासँग सम्बन्धित छ । त्यहाँ कुलमण्डल शाहले राजगद्धी गरेको समयदेखि नै उक्त नृत्य प्रदर्शन हुँदै आएकोमा पछिल्ला वर्षहरुमा देखाउन छाडिएकोमा पुनः निरन्तरता दिन लागिएको हो ।
सराङकोट टप क्षेत्रका सबै संरचना निर्माण गर्न हालसम्म करिव २७ करोड लगानी भइसकेको वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए । साथै सराङकोट क्षेत्रमा पोखराको सेदीबाट केवलकारमा पुग्न सकिने व्यवस्था समेत छ ।
सराङकोट टप क्षेत्रको हालको निर्माण संरचना देखेर पण्डित कृष्ण यतिबेला फुरुङ्ग छन् । उनमा कैलाशेश्वर शिव मन्दिरको सहायक पण्डितसम्म त हुन्छु भन्ने आत्मविश्वास समेत पलाएको छ । मन्दिरमा हाल पर्व विशेषमा गोविन्द पहारी तथा अन्य नियमित समयमा प. कृष्ण तिमिल्सिनाले पूजा गर्दै आएका छन् ।
सराङकोटलाई पर्यटकीय क्षेत्रका अलावा धार्मिक अस्थाको केन्द्रका रुपमा देशविदेशमा चिनाउने मुख्य उद्देश्य साथ भक्तपुरको कृष्ण मन्दिर शौलीमा त्यहाँ कैलाशेश्वर शिव मन्दिर निर्माण गरिएको छ । जसका लागि प्रयोग हुने सम्पूर्ण सामग्री र जनशक्ति पनि भक्तपुरबाटै ल्याइएको हो । मन्दिर निर्माणमा मात्रै हालसम्म ८ करोड बढी खर्च पनि भइसकेको छ ।
मन्दिरमा तामाको पाताबाट छाना मोडिएको (३ करोड लागत) छ । त्यहाँ महाशिवरात्रि, तीज, बालाचर्तुदशी लगायत चाडमा विशेष पूजाआजा हुँदै आएको छ । मन्दिरको दोस्रो तलामा ५ वटा भगवान् शिव परिवारको दिव्य मूर्ति राख्ने तयारी छ । मन्दिरको पूर्व उत्तरतर्फ १०८ शिवलिङ्ग तथा पूर्व दक्षिणतर्फ हवनगृह निर्माण गरिएको छ ।
शिवरात्रिमा सम्मानित व्यक्तित्वबाट त्यस क्षेत्रको उद्घाटन गर्ने तयारी समितिको छ । २०६१ सालमा यज्ञ लगाई मन्दिरको स्तरोन्नतिका लागि तदर्थ समिति गठन भएको करिब २० वर्षको अथक प्रयासबाट मात्रै योजनाले सार्थकता पाउन लागेको हो । मन्दिर निर्माणमा पोखरा महानगरपालिकाबाट हालसम्म करिब ३ करोड सहयोग प्राप्त भएको वडाध्यक्ष तिमिल्सिनाले जनाए ।
मन्दिर पुनर्निर्माणकै लागि फरक फरक स्थान सराङकोट, पोखराको बगर, बास्तोलाथर, काठमाडौं कुपन्डोल, पुनःसराङकोटमा समेत गरी हालसम्म ५ महायज्ञ भइसकेका छन् । त्यहाँ चौथो यज्ञसम्म संस्थापक अध्यक्ष स्वः लोकबहादुर थापाले नेतृत्व गरेका थिए । यसपटकको यज्ञ छैठौं पटकको हो ।
ओझेलमा परेकी देवीलाई चम्काउन यसपटकको महायज्ञ सफल हुने भागवत् भाष्कर प. कमलनयन गौतमको विश्वास छ । सराङकोटवासीको निरन्तर खटाईका कारण हालसम्ममा उपलब्धि हासिल भएको उनले प्रस्टाए ।
यज्ञ मार्फत संकलित रकमबाट मन्दिरमा नित्य पुजाको व्यवस्था गर्ने, सो क्षेत्रको थप सौन्दर्यकरण गर्ने, त्यहाँ पार्क, सङग्राहालय, उद्यान बनाउने, विन्ध्यवासिनीदेखि सराङकोट क्षेत्रका ठाउँठाउँमा स्वागतद्वार, विश्राम स्थल, पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ ।
संरचना निर्माण भएसँगै अब सराङकोट क्षेत्रको थप महत्व बढ्दै जाने अपेक्षा छ । त्यसो त पोखरा हेर्ने सराङकोटसम्म उक्लनै पर्दछ । त्यसमाथि संरचना पनि निर्माण भएका छन् । जसकारण सराङकोट टपमै कम्तीमा एक रात भए पनि पर्यटक बस्न सक्ने अवस्था क्रमश बन्दै गएको प.गौतमले सुनाए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
पोखरामा क्रस कन्ट्री दौड तयारी
hero news full width
मुख्य समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१